थप १७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२१२ पुग्यो



काठमाडौं : आज थप १७० जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका २८ जनामा कोरोना संक्रमण देखिएको छ। यसैगरी धरानको प्रयोगशालामा गरिएको परिक्षणमा सप्तरीका ४ जनामा पनि कोरोना संक्रमण देखिएको हो।

नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका ४ जना र पर्साका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस्तै पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरमा रहेका एक जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ। यसैबीच गण्डकी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा म्याग्दीका १ जनामा पनि कोरोना संक्रमण देखिएको पुष्टि भएको छ।

यस्तै भेरी अस्पतालको प्रयोगशालामा बाँकेका १० जनामा कोरोना पोजेटिभ आएको छ। भरतपुरको प्रयोगशालामा कपिलवस्तुका ४ र नवलपरासी पूर्वका २ जनामा कोरोना संक्रमण भेटिएको मन्त्रालयले पुष्टि गरेको हो।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा ८४ जनाको कोरोना पुष्टि भएको छ। उनीहरू कपिलवस्तु २३, रौतहटका ५६ र सर्लाहीका ४ जना रहेका छन्।

यस्तै रुपन्देही प्रादेशिक अस्तपालमा पनि १६ जनामा कोरोना संक्रमण भेटिएको छ। उनीहरु कपिलवस्तुका १५ जना र रुपन्देहीका १ जना रहेको प्रवक्ता डा देवकोटाले जानकारी दिएका हुन्।यस्तै राप्ती अस्पतालको प्रयोगशालमा दाङका २ जना र कपिलवस्तुका ९ जनामा कोरोना संक्रमण देखिएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ। हालसम्म ११०३ पुरुष र १०९ महिला कोरोना संक्रमित भएका छन्।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ भने उपचारपछि २ सय ६ जना निको भएका छन्। पछिल्लो समय थप १९ जना डिस्चार्जा भएपछि निको हुनेको संख्या २०६ पुगेको हो।

प्रतिक्रिया दिनुहोस्