सय जना पत्रकारलाई स्वास्थ्य सामग्री



काठमाडौंः कोभिड-१९ को महामारीबीच अग्रपङ्तिमा रहेर खटिने १०० भन्दा बढी सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ ।

गन्तव्य नेपाल ग्रुपको संयोजनमा राजधानीका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार तथा फोटोपत्रकारको सुरक्षा र सहजताका लागि पिपिई सेट, प्रेस ज्याकेट, सर्जिकल मास्क, ग्लोब्स र स्यानेटाइजर प्रदान गरिएको हो । नक्सालस्थित नारायण चौरमा सामाजिक दूरी कायम गर्दै ती सामग्री वितरण गरिएको थियो ।

संस्थाका अध्यक्ष शिव अधिकारीले स्थलगतरुपमै खटिने छापा, अनलाइन, रेडियो तथा टेलिभिजनमा कार्यरत १०० भन्दा बढी पत्रकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको जानकारी दिए ।

अध्यक्ष अधिकारीले लकडाउन अवधिभर अत्यावश्यक काममा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री सहयोग जारी रहने पनि बताए ।

बोधिसत्व विहारको सहयोगमा ती सामग्री प्रदान गरिएको र उक्त सामग्री व्यवस्थापनका निम्ति संस्थाले विज्ञप्तिमार्फतप्रति आभार प्रकट गरेको छ । कार्यक्रममा बोधिसत्व विहारका मूल गुरु हाल नेपालमा रहनुभएका ताइवानी नागरिक) हेगुवाङ शी र विहारअन्तर्गत कोरोना लक्षित आपत्कालीन राहत कार्यक्रमका सञ्चालक शान्त शर्मा उपस्थित थिए ।

राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) ले पनि हालै ५० भन्दा बढी पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री एन-९५ मास्क र स्यानेटाइजर वितरण गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्