निर्माण समाग्रीको अभावमा पर्सामा पर्ने हुलाकी सडकको काम ठप्प



वीरगन्जः सरकारले राष्ट्रिय गौरबको आयोजनाको रुपमा राखेको वीरगन्ज-ठोरी हुलाकी सडक निर्माणको काम निर्माण समाग्रीको अभाबमा ठप्प भएको छ । लकडाउनका बेला पनि सरकारले राष्ट्रिय गौरबका काम मध्ये हुलाकी सडक निर्माण गर्न भनेको भए पनि आवश्यक निर्माण सामग्री उपलब्ध नहुँदा काम रोकिएको छ ।

वीरगन्जको प्रतिमा चोकदेखि ठोरीसम्म ६० किलोमिटर हुलाकी सडकमध्ये वीरगन्जदेखि पर्साको सेढवासम्मको ३० किलोमीटर सडक निर्माण गर्न सामग्री अभाव भएको निर्माण कम्पनीले जनाएको छ । ३० किलोमिटरमध्ये ५० प्रतिशतभन्दा बढी काम भइसकेको भए पनि बाँकी काम अघि बढाउन आवश्यक सामग्री उपलब्ध नहुँदा काम रोकिएको निर्माण कम्पनीले जनाएको छ ।

गिटी बालुवा तथा ग्राभेलका लागि आवश्यक पर्ने निर्माण सामग्री पर्साकै जमुनियाँ खोलाबाट उत्खनन् गरेर निकाल्दै आएकोमा अहिले भने रोक लगाएपछि निर्माण समाग्रीको अभाव भएको हो । निर्माण कम्पनीले पर्साको सखुवा प्रसौनी र पटेर्वा सुगौली गाउँपालिकाबीचमा रहेको जमुनियाँ खोलाबाट गएको वर्ष आवश्यक गिटी बालुवा निकालेर निर्माण कार्यमा प्रयोग गर्दै आएको थियो ।
तर चालु आर्थिक वर्षमा भने अहिलेसम्म नदी उत्खनन्का लागि टेण्डर नहुँदा आवश्यक गिटी बालुवा निकाल्न सकेको छैन । वीरगन्जदेखि सेढवासम्मको ३० किलोमिट हुलाकी सडक निर्माणका लागि चाहिने नदीजन्य सामान उपलब्ध गराउन हुलाकी राजमार्ग निर्देशनालयले सम्बन्धित कार्यालयलाई पटक पटक पत्राचार गरेको छ ।

निर्देशनालयले जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला समन्वय समिति, जिल्ला बन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतका सम्बद्ध कार्यालयलाई पत्राचार गर्दै सडक निर्माण कार्यमा आवश्यक सहयोग गरिदिन भनेको छ । पत्रमा राष्ट्रिय गौरबको यस सडकमा निर्माण समाग्री निकाल्ने अनुमति नमिल्दा आयोजना सम्पन्न गर्न कठीनाई भइरहेकाले जमुनिया खोलाबाट आवश्यक निर्माण सामग्री नियमानुसार दस्तुर लिई निर्माण कार्यमा सहयोग पु¥याउन आग्रह गरिएको छ ।

निर्देशनालयले पटक पटक सहयोगका लागि पत्राचार गरे पनि आर्थिक वर्ष सकिन लाग्दासम्म नदी उत्खनन्का लागि कतैबाट पनि सहयोग हुन सकेको छैन । नदीजन्य सामान अभावमा अहिले काम गर्न कठीनाइ भएको निर्माण कम्पनीले जनाएको छ ।

गएको आर्थिक वर्षमा त्यही खोलाबाट ढुंगा, गिटी, बालुवा तथा माटो झिकेर सडकमा प्रयोग गरिएकोमा यस वर्ष प्रयोग गर्न नपाउँदा काम अगाडि बढाउन नसकेको निर्माण कम्पनीको भनाई छ । गएको वर्ष साँझेदारीमा पटेर्वा सुगौली गाउँपालिकाले नदी उत्खनन्का लागि ठेक्का लगाएको थियो ।

तर यस वर्ष भने अहिलेसम्म ठेक्का लाग्न सकेको छैन । जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नेक महम्मदका अनुसार दुवै गाउँपालिकाबीचको विवादका कारण नदीको आईई प्रतिवेदन अझै सम्म हुन सकेको छैन । ‘आईई प्रतिवेदन स्वीकृत नभएसम्म नदीजन्य वस्तु उत्खनन् गर्न नपाइने भएकाले अनिवार्य आईई गराउनु पर्ने कानुनी प्रावधान छ,’ उनले भने दुबै गाउँपालिकाले एउटै नदीको लागि आईई प्रतिवेदन तयार पार्न निवेदन दिएकाले विवाद देखिएको छ ।
पहिले दुबै गाउँपालिका मिलेर आउन आफूहरुले भनेको तर अहिलेसम्म मिलेर नआएकाले प्रस्ताव तयार पार्न अनुमति नदिएको स्पष्ट पारे । तर गाउँपालिकाले भने आफूहरुबीच कुनै विवाद नै नरहेको र जिल्ला समन्वय समितिको बदमासिकै कारण नदी उत्खनन कार्य हुन नसकेको जनाएको छ ।

सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवालले आफूहरुले आईई प्रतिवेदन तयार पार्न आर्थिक वर्षको सुरुवातमा नै अनुमति मागेको भए पनि जिल्ला समन्वय समितिले अझै सम्म अनुमति नदिएको बताए । ‘समन्वय समितिले उचित समन्वय नै गरेन, उसकै बदमासीका कारण पूरै जिल्लाको विकास निर्माणको काम ठप्प हुन पुगेको छ,उनले बताए ।सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले पनि जिल्ला समन्वय समितिकै कारण काम अड्किएको बताए । गएको वर्ष दुबै गाउँपालिकाले आपसी सहमतिमा बाँडफाँड गरेर नदी उत्खननको ठेक्का लगाएका थिए । पटेर्वा सुगौलीले लगाएको ठेक्कामा सखुवा प्रसौनी गाउँपालिकाले पनि सहयोग गरेको थियो ।

त्यसबेला सखुवा प्रसौनी र पटेर्वा सुगौलीबीच ६५-३५ को बाँडफाँडमा पटेर्वा सुगौलीले ठेक्का लगाएको थियो । अहिले पनि चालु आर्थिक वर्षको सुरुमै जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा गएको वर्ष जसरी नै ठेक्का लगाउन दुबै गाउँपालिकाले सहमति गरेको सखुवा प्रसौनीका अध्यक्ष जयसवाले बताए ।

तर सहमति गरेर आईईका लागि अनुमति माग्दा समन्वय समितिले अनुमति नै नदिएको उनले बताए । हरेक दुई दुई वर्षमा आईई गर्नु पर्ने व्यवस्थाका कारण आईईका लागि अनुमति मागेको पनि जयसवालले प्रष्ट पारे । ३० किलोमीटर सडकखण्डको स्तरोन्नतिको ठेक्का एक अर्ब ३२ करोड रुपैयाँमा लागेको थियो ।

३० महीनामा काम पूरा गर्ने गरी २०७४ कात्तिक तेस्रो सातादेखि काम सुरु भएको यो सडक २०७७ जेठ १८ सम्ममा सक्ने समयसीमा तोकिएको छ । तर निर्माण सामग्री अभावमा काम अघि बढ्न नसकेको निर्माण कम्पनीले पटक पटक जानकारी गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्