भारतको रक्सौलबाट आयातित पेट्रोलियम पदार्थमा पानी र लेदो 



वीरगन्ज :  भारतबाट आयात गरिने पेट्रोलियम पदार्थमा पानी र लेदो मिसावट भएको पाइएको छ । सीमावर्ती भारतीय सहर रक्सौलस्थित इन्डियन आयल कर्पोरेसन (आइओसी) को डिपोबाट नेपालका लागि भित्र्याइएको डिजेल र पेट्रोलमा पानी र लेदो मिसावट पाइएको हो ।

वीरगन्जका पेट्रोल पम्प सञ्चालकहरूले गरेको गुनासोको आधारमा मंगलबार भारतबाट आयातित ट्यांकरको पेट्रोलियम पदार्थ चेकजाँच गर्दा पानी र लेदो फेला परेको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको नेतृत्वका्े अनुगमन टोलीले चार ट्यांकरको डिजेल र पेट्रोल चेकजाँच गरेको थियो । जाँचका क्रममा लेदो र पानी भेटिएको थियो ।

नेपाल आयल निगम, खाद्य तथा गुणस्तर कार्यालयका कर्मचारी र राष्ट्रिय पेट्रोलियम डिलर्स एसोसिएसनका पदाधिकारी सम्मिलित अनुगमन टोलीले नेपाल आयल निगमको क्षेत्रीय कार्यालय वीरगन्ज अगाडि राखिएको ट्यांकरमा रहेको पेट्रोलियम पदार्थ निकालेर चेकजाँच गरेको थियो ।

‘हामीले चारवटा ट्यांकरबाट पेट्रोलियम पदार्थ निकालेर चेकजाँच गरेका हौ, हरेक तेलमा मिसावट भेटिएको छ’, सहायक प्रजिअ शर्माले भने–‘अनुसन्धान सकिएको छैन, थप अनुसन्धान भइरहेकोले यसमा अरु पनि थप केही खुलासा हुने छ ।’ रक्सौलस्थित आइओसीको डिपोबाट मंगलबार अपरान्हसम्म डिजेलका २२ र पेट्रोलका १२ ट्यांकर नेपाल भित्रिएका थिए । सोमबार पनि डिजेलका २० वटा र १३ वटा पेट्रो बोकेका ट्यांकर भित्रिएको थियो ।

राष्ट्रिय पेट्रोलियम डिलर एसोसिएसनका केन्द्रीय सदस्य अनिल सिंहका अनुसार डिजेल र पेट्रोल इन्धन ढुवानी गर्ने एउटा ट्यांकरमा तीनदेखि चारवटा चेम्बर  हुन्छन् ।

‘प्रत्येक चेम्बरमा चार हजार लिटर ईन्धन लोड गरिएको हुन्छ र प्रत्येक चेम्बरमा २० देखि २५ लिटरसम्म पानी र लेदो रहनेगरेको छ’ केन्द्रीय सदस्य सिंहले भने । गत एक सातादेखि रक्सौल डिपोबाट आयात गरिएका ट्यांकरहरूमा डिजेल र पेट्रोलसँगै अधिक मात्रामा लेदो र पानी फेला पर्दै आएको वीरगन्जका पेट्रोलपम्प सन्चालकले गुनासो गर्दै आएका थिए ।

नेपाल आयल निगमको क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख जगदिशचन्द्र यादवले रक्सौल डिपोको ट्यांकी सफा भइरहेकाले पाइपबाट पानी र लेदो ट्यांकरमा पुगेको हुनसक्ने बताए । वीरगन्ज नाका हुँदै नेपालका लागि कुल इन्धनको ९० प्रतिशत इन्धन वीरगन्ज नाकाबाट भित्रिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्