६७ सांसद र १२४ कर्मचारी गरि १९१ जनाको स्वाब संकलन,बाँकीको भोली



जनकपुरधाम: जेठ २१ गते बस्न लागेको प्रदेशसभा बैठकअघि आज (शुक्रबार) प्रदेश २ का प्रदेशसभा सदस्य र कर्मचारीहरुको कोरोना जाँच गर्न स्वाब संकलन गरिएको छ।

प्रदेशसभा भवनमा प्रदेश २ का उपसभामुख, राज्यमन्त्री,प्रदेशसभा सदस्य लगायत ६७ जना र संसद सचिवालयमा कार्यरत कर्मचारी,सुरक्षाकर्मी,मन्त्रीहरुका पिएसओ,चालक लगायत १ सय २४ जना गरि कुल १ सय ९१ जनाको स्वाब संकलन गरिएको सभामुख सरोज कुमार यादवका प्रेस सल्लाहकार प्रभाकर सिंहले जानकारी दिए ।

सभामुख यादव र केहि अन्य प्रदेशसभा सदस्यहरु बाहिर रहेकाले उनीहरुको स्वाब संकलन भोली गरिने उनले बताए । प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको स्वाब संकलन यसअघि नै भईसकेको छ ।
प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम जेठ २१ गते बुधवार दिनको १ बजे प्रदेशसभाको चौथो अधिवेशन आह्वान गरेपछि सांसद र कर्मचारीको स्वाब संकलन गरिएको सिंहले बताए।

प्रदेश २ का सबै सांसदहरुको स्वाब संकलन पश्चात पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने बताइएको छ। कोरोना महामारीका बिच बजेट ल्याउनुपर्ने भएकोले प्रदेश २ को चौथो अधिवेशन जेठ २१ गतेदेखि सुरु हुन लागेको हो ।

जेठ २० गतेसम्मका लागि सेसन अन्त्य गरिएको र २१ गते दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले बताए ।
बैठक हलमा सामाजिक दूरी कायम गरि तीन कुर्सीको बीचको कुर्सी खाली राखेर प्रदेशसभा सदस्यहरुलाई बस्नेगरी व्यवस्थापन समेत मिलाई सकिएको छ ।

असार १ गते निति तथा कार्यक्रम र त्यस लगत्तै बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभा बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्