बृद्ध आमा र दुई छोरा छोडेर बेपत्ता राजु समातिए, खर्च दिन सहमत 



म्याग्दी : दुई नाबालक छोरा र ७५ वर्षिया आमालाई शौचालयको छाप्रोमा छोडेर अर्को विवाह गरी बेपत्ता भएका राजु बिकलाई प्रहरीले नियन्त्रणमा लिएर छोरा र आमाकै जिम्मा लगाएको छ ।

म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटका राजु दम्पतिले आफ्ना दुई छोरा ९ वर्षिय एनस र ७ वर्षिय सिमसनलाई ७५ वर्षिया आमा जमुना विकको साथमा छोडेर अर्को विवाह गरेपछि तीनै जनाको बिचल्ली भएको थियो । तीनै जना बेनी नगरपालिका वडा नं २ बगरफाँटको सरस्वती आधारभूत विद्यालयको शौचालय रहेको छाप्रोमा बस्दै आएका थिए ।

गत बिहीबार ‘बाआमा जोइलापोइला गएपछि नाति हुर्काउँदै बृद्धा हजुरआमा’ शीर्षकको समाचार  ‘द नेपाल टप डट कम’ मा प्रकाशन भएपछि प्रहरीले राजुको खोजी गरेको थियो ।

मंगलबार दिउँसो प्रहरीले मालिका गाउँपालिका १ दरबाङबाट राजुलाई नियन्त्रणमा लियो । राजु अर्को विवाह गरी दरवाङमा ज्याला मजदुरी गरी बसेका थिए भने उनकी पहिलो श्रीमतीले पनि अर्कैसँग विवाहा गरी पोइल गएपछि नाबालक दुई नातिलाई ७५ बर्षिया हजुरआमा जमुना विकले विद्यालयको शौचालय रहेको छाप्रोमा राखेर पालेकी छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्की, वडा अध्यक्ष हिराबहादुर थापा, वडा सदस्य चन्द्रबहादुर कुवँर लगायत स्थानीय कृष्णबहादुर थापा, चन्द्रबहादुर घिमिरे, चित्रबहादुर रिजाल, दुर्गाबहादुर घिमिरे, ओमबहादुर थापा लगायतको रोहबरमा राजुले बृद्धा आमा र दुई छोराको जीवन गुजाराका लागि मासिक छ हजार रुपैयाँ दिन सहमत भएका छन् ।

‘आमा र छोरालाई मैले सँगै राखेर पाल्छु भन्दा मानेनन्’ राजुले भने ‘नमानेपछि मासिक छ हजार रुपैयाँ दिन म सहमत भएँ ।’ वडाअध्यक्ष सहितका स्थानीय बृद्धिजीवीले राजुका दुई नाबालक छोरा र बृद्धा जमुनालाई स्थायी व्यवस्था नहुन्जेलसम्म गाउँमै कोठा खोजेर राखिदिने र उनीहरुको खाना, कोठाभाडा र भैपरी आउने खर्च अर्को व्यवस्था नहुँदासम्म राजुले नै व्यहोर्नुपर्ने बताएका छन् ।

बृद्धा जमुनाले आफ्ना नाबालक नातिहरुलाई सौतिनी आमाको जिम्मा लगाउन नसक्ने र आफू गाउँ छोडेर अन्त पनि नजाने बताउँदै आफैले जसातसो गरी पाल्ने बताइन् । 

 

प्रतिक्रिया दिनुहोस्