विरामी बोक्न नमान्ने एम्बुलेन्सलाई कारबाही गर्ने चेतावनी



जनकपुरधाम : कोरोना महामारीको यस विपदपूर्ण अवस्थामा बिरामी बोक्न आनाकानी गर्ने एम्बुलेन्स सञ्चालकमाथि कारबाही गरिने चेतावनी दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै बिरामी बोक्न आनाकानी गर्ने एम्बुलेन्सलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

नेपाल सरकारबाट कर–भन्सार छुट लिई विभिन्न संघसंस्थाहरुबाट सञ्चालित एम्बुलेन्सहरुले विगत केहि दिनदेखि बिभिन्न बहानामा बिरामी बोक्न आनाकानी गरेको गुनासो आएकाले सम्पूर्ण एम्बुलेन्स सञ्चालन गर्ने संघसंस्था तथा चालकहरुलाई अहिलेको अबस्थामा कुनैपनि बहानामा बिरामी बोक्न अस्विकार नगर्न अनुरोध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा कोरोनाको सम्भावित जोखिम न्यूनिकरण गर्न सबै एम्बुलेन्स सञ्चालकहरुलाई जिल्ला प्रशासन कार्यालयके तोकेको पालिकामा राख्न आग्रह गरिएको छ । साथै चालकको सिटलाई पार्टेसन गरेर राख्न, चालकहरुलाई पीपीई, पञ्जा, मास्क उपलब्ध गराउन, बिनाकारण चालकलाई बिदामा नराख्न, राख्नु नै परे त्यसको वैकल्पिक व्यवस्था मिलाउन समेत अनुरोध गरिएको छ ।

तोकिएको ठाउँमा बिरामी बोकी जान नचाहने वा बिभिन्न बहाना बनाएर बिरामीलाई अस्पतालसम्म लग्न आनाकानी गर्ने एम्बुलेन्सहरुलाई नियन्त्रणमा लिई खारेजीसम्मको प्रक्रियामा लैजाने गरि कारबाही गरिने जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकिय अधिकृत गणेश मिश्रले बताए ।

उनले कुनैपनि एम्बुलेन्सले बिरामी बोक्न अस्विकार अथवा आनाकानी गरे नेपाल प्रहरीको १०० अथवा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको मोबाइल नम्बर ९८५४०२१०७७ मा शिकायत गर्नसकिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्