अष्ट्रियाली विदेशमन्त्री आज आउँदै



काठमाडौं: अष्ट्रियाका विदेशमन्त्री करिना किनाइसल १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको तीन दिवसीय भ्रमणमा आज काठमाडौँ आउँदैछन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । अष्ट्रियाबाट विदेशमन्त्रीस्तरमा ३० वर्षपछि भ्रमण हुन लागेको हो । 

भ्रमणका क्रममा नेपाल र अष्ट्रियाबीच प्रतिनिधिमण्डलस्तरीय बैठक हुनेछ । दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा हुने उक्त बैठकमा द्विपक्षीय हित र चासोका सबै विषयका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका अन्य विषयमा पनि विचारविमर्श हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए। 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग विदेशमन्त्री किनाइसलले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उनी परराष्ट्र अध्ययन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा पनि सहभागी हुनेछन् । उक्त प्रतिनिधिमण्डलमा पाँच पत्रकारसमेत छन् । नेपाल भ्रमण वर्ष सन् २०२० का सन्दर्भमा नेपालको प्रचारप्रसार गर्न अष्ट्रियाली सञ्चारकर्मीबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्