संशोधनका लागि राजपा नेता मात्रै किन पुगे सिंहदरबार ?



काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले संबिधान संशोधनका संशोधन प्रस्ताव अघि बढाउने भएको छ ।

आज जसपा नेताहरु सिंहदरबार स्थित संघीय संसदको सचिवालयमा पुगेर सल्लाह गरेका छन् । संघीय संसदका महासचिव डा. भरतराज गौतमसंग भेटेर जसपा नेताले संशोधन प्रस्ताव दर्ता गराउँने बिषयमा सल्लाह गरेका छन् ।

‘संविधान संशोधनको विषयमा संशोधन प्रस्ताव हामीले आज दर्ता गराउँन खोजे पनि हुन सकेन’ सिंहदरबार पुगेका जसपा नेता केशव झाले भने, ‘संघीय संसदका महासचिव ज्यूले सभामुखसंग सल्लाह गरेर आईतबार दर्ता गर्ने भनेर बोलाउँनु भएको छ ।’

सिंहदरबार स्थित संघीय संसदको सचिवालयमा जसपा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, अनिल झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, मनिष सुमन लगायतका नेताहरु पुगेको झाले बताए ।

समाजवादी पार्टीसँग एकीकरण घोषणा गरेको तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरु मात्रै संशोधनका लागि सिंहदरबार पुगेका थिए । संशोधन दर्ताका लागि पुगेका नेताहरु समावादी पार्टीबाट कोही पनि सहभागि थिएनन् ।

अहिले पार्टी एकीकरणको प्रक्रियामा रहेकाले राजपाका नेताहरुले संशोधन प्रस्ताव दर्ताका लागि सिंहदरबार पुगेका बताउँदै झाले दर्ता पछि समाजवादीसँग पनि छलफल गरेर अगाडी बढने बताए ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेलामा संसदमा दर्ता भएको प्रस्तावहरु नै अहिले पनि राजपाले दर्ता गर्न खोजेको हो । त्यती बेला त्यो संशोधनको पक्षमा राजपा सहित नेपाली काँग्रेस, संघीय समाजवादी, तत्कालिन नेकपा (माओवादी केन्द्र) ले मतदान गरेका थिए । तर तत्कालिन नेकपा एमालेले विपक्षमा मतदान गरेपछि सो प्रस्ताव अस्विकृत भएको थियो ।

संशोधन बारे बिस्तृत छलफल गर्नका लागि राजपाले संसदीय दलको बैठक शनिबार बोलाएको छ । शनिबार १ बजे बस्ने संसदीय दलको बैठकमा राजपाका सांसद मात्रै सहभागि हुने छन् । एकीकरण प्रक्रियामा रहेका समाजवादी पार्टीका सांसदहरु सो बैठकमा सहभागि हुन पाउँने छैन् ।

‘संशोधनको बारेमा छलफल गर्नका लागि शनिबार संसदीय दलको बैठक बोलाईएको छ’ राजपा सांसद लक्ष्मणलाल कर्णले भने, ‘पहिले नै संसदमा टेबुल भईसकेको प्रस्तावलाई नै हामी अहिले पनि अगाडी बढाउँन खोजेका छौं ।’

संविधान जारी भएदेखी असन्तुष्टि जनाउँदै आएको मधेसवादी पार्टीले संशोधनको माग बिगतदेखी नै गर्दै आएको छ । प्रदेशको सीमाकंन, नागरिक्ता, भाषा, लगायतका विषयमा मधेसवादी दलले असन्तुष्टि व्यक्त गर्दै संशोधनको माग गर्दै आएका छन् । सरकारले हालै जारी गरेको नयाँ नक्साको सम्बन्धमा संविधान संशोधनका लागि प्रस्ताव दर्ता गराउँदै अगाडी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्