प्रधानमन्त्री ओली सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै



कैलाली :  प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरु सुदूरपश्चिमका विभिन्न कार्यक्रममा व्यस्त छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बुधबार (आज)सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दैछन् । 

डडेल्धुराको विद्युत सबस्टेसन र डोटीको सहजपुर बोगटान कालोपत्रे सडकको शिलान्यास गरेका प्रधानमन्त्री ओली मंगलबार तेघरीस्थित सेनाको ब्यारेकमा बसेका थिए । प्रधानमन्त्री ओली सो कार्यक्रमहरुका लागि मंगलबार बिहानै सुदूरपश्चिम आए पनि नेकपाका अन्य नेताहरु भने साँझ मात्रै धनगढी आएका हुन् ।

अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल पनि कार्यकर्ता प्रशिक्षणका लागि धनगढी आएका हुन् । अध्यक्ष प्रचण्ड धनगढीको हसनपुरस्थित नेपाल राष्ट्र बैंकको आवासगृहमा बसेका छन् भने वरिष्ठ नेता नेपाल होटेल डिभोटी र महासचिव पौडेल होटेल साथीमा बसेका छन् ।

धनगढी आएपछि पार्टीका शीर्ष नेताहरु कार्यकर्ताहरुसँगको भेटघाटमा मंगलबारदेखि नै व्यस्त छन् । बुधबार दिउँसो धनगढीको क्षेत्रीय रंगशालामा नेकपाको बृहत आमसभा तथा कार्यकर्ता प्रशिक्षणको कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्