कैलाली : तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको उत्कृष्ट खेलाडीले दक्षिण अफ्रिका भ्रमण गर्न पाउने भएका छन् । आयोजक धनगढी क्रिकेट एकेडेमीले पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने यु–१९ खेलाडी सम्मिलित टिम डीपीएल इमर्जिङ स्टार्सले दक्षिण अफ्रिकाको भ्रमण गर्ने जानकारी दिएको हो ।
डीपीएलले स्पोर्ट्स एडसँगको सहकार्यमा १४ खेलाडी रहने डीपीएल इमर्जिङ स्टार्सलाई दक्षिण अफ्रिकाको भ्रमण गराउने जनाएको छ । १४ सदस्यीय टोलीको सम्पूर्ण खर्च आयोजक डिपिएलले व्यहोर्ने एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।
डीपीएल इमर्जिङ स्टार्सले दसैँपछि दुई साताको लागि दक्षिण अफ्रिकाको भ्रमण गर्नेछ । टोलीले केप टाउनमा स्थानीय क्लब र प्रान्तीय टोलीसँग ५० ओभर र २ दिवसीय क्रिकेट खेल्ने बताइएको छ ।
दक्षिण अफ्रिका भ्रमणको लागि आगामी आइतबार ईमर्जिङ स्टार्स टोलीको घोषणा गरिने आयोजकले जनाएको छ ।