एमसीसी र बजेटका विषयमा छलफल गर्न नेकपा सचिवालयको बैठक बस्दै



काठमाडौं : अमेरिकी सहयोग कार्यक्रम मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) को कार्यक्रमलाई बजेटमा राखेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद शुरु भएको छ । एमसीसी र बजेटका विषयमा छलफल गर्न आज नेकपाको आकस्मिक रुपमा सचिवालय बैठक बस्दैछ ।

पार्टी भित्र विवादित बनेको एमसीसी अन्तर्गत प्राप्त हुने ५ अर्ब ७२ करोड रुपैयाँ वैदेशिक अनुदान बजेटमा समावेश भएपछि त्यस विषयमा छलफल गर्न शनिबार बिहान ९ बजे सचिवालय बैठक बोलाइएको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ ।

संसदबाट एमसीसी सम्झौता पारित नहुँदै सरकारले अनुदान रकमलाई आर्थिक वर्ष २०७७/०७८को बजेटमा समेटेको छ । बजेट किताबको अनुदान तथा ऋण सारांश अनुसूचि १० मा एमसीसी अमेरिकाबाट ५ अर्ब ७२ करोड ७२ लाख रुपैयाँ प्राप्त हुने वैदशिक अनुदानको रुपमा राखिएको छ ।
एमसीसी परियोजनबाटै प्राप्त हुने भनेर राखिएको रकमसहित बजेट पारित भएमा अमेरिकासँगको एमसीसी सम्झौताले वैधानिकता पाउने आशंकापछि केही सभिवालय सदस्यको दवावमा आज आकस्मिक रुपमा सचिवालय बैठक बोलाइएको हो ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र भीम रावल लगायतका नेताले पार्टीको निर्णय विनानै एमसीसी परियोजना तोकेरै बजेट ल्याइएको भन्दै तत्काल बैठक बोलाउन नेकपाका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दवाव दिएका थिए ।

नेताहरुको दवावपछि शुक्रबार साँक्र पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

भेटवार्ता लगत्तै थप छलफल गर्न शनिबार विहान ९ बजे सचिवालय बैठक बोलाउने निर्णय भएको थियो ।

सरकारले बिहीबार संसदमा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट पेश गरेको थियो । बजेटमा लप्सीफेदी–रातामाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माण बढाइने उल्लेख छ र अन्तरदेशीय प्रशारण निर्माणका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्