झापाका २७ संक्रमित रातभर अस्पतालको गेट बाहिर



बिर्तामोड : शुक्रबार कोरोना भाइरस संक्रमण पुष्टि भएका झापाका २७ जना संक्रमितलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालले भर्ना लिन अस्वीकार गरेको छ ।

अस्पतालले भर्ना नलिएपछि संक्रमितहरु शुक्रबार रातभर अस्पतालको गेट बाहिरै बसेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । पुष्टिलगत्तै उनीहरुलाई कचनकवल गाउँपालिका–४ स्थित क्वारेन्टाइनबाट साँझ ६ बजेतिर बसमार्फत धरान लगिएको थियो । तर, धरानस्थित कोभिड अस्पतालले राख्ने ठाउँ नभएको भन्दै भर्ना नलिएपछि संक्रमितहरु रातभरि गेटबाहिरै भएका हुन् ।

उनीहरुलाई प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा धरान पठाएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । ‘संक्रमण पुष्टि भएकाहरुलाई धरान नै पठाइरहेका थियौं । मन्त्रालयको समन्वयमा उनीहरुलाई पनि धरान पठाएका हौं’ चम्लागाईले भने,‘तर, अस्पतालले बेड खाली नभएको भन्दै भर्ना दिएको छैन । संक्रमतिहरु रातिदेखि अस्पतालको गेट बाहिर बसिरहेका छन् ।’

जिल्लामा कोभिड संक्रमितको संख्या १ सय ५ पुगेको छ । उनीहरुमध्ये कचनकवल गाउँपालिकामा मात्र एक सय जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २ जना उपचार पछि घर फर्किएका छन् भने अन्य सबै उपचाररत छन् ।कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्