विद्यालयलाई पनि क्वारेन्टाइन बनाउने निर्णय भएपछि शिक्षककै नेतृत्वमा भत्काइयो विद्यालय



काठमाडौं : लकडाउनमा भारतबाट आएका नागरिकलाई राख्न क्वारेन्टाइन बनाइएपछि जाजरकोट भेरी नगरपालिका– ६ का बासिन्दाले शिक्षककै नेतृत्वमा विद्यालय भवन भत्काएका छन् । भारतबाट फर्केकालाई क्वारेन्टाइनमा राख्दा कोरोना संक्रमण फैलिने भन्दै उनीहरूले विद्यालय भत्काएका हुन् । 

भेरी नगरपालिकाले भारतलगायत विभिन्न मुलुकबाट आएका स्थानीय बासिन्दालाई राख्न स्थानीय कृष्ण प्राथमिक विद्यालयको भवनमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार वडा कार्यालयले विद्यालयमा विदेशबाट आएकालाई राख्न खोज्दा शिक्षककै अगुवाइमा विद्यालय नै भत्काइएको वडाध्यक्ष शशि बुढाले बताए । ‘शिक्षक जयबहादुर शाहीको नेतृत्वमा स्थानीय बासिन्दाले विद्यालय भत्काइदिए । क्वारेन्टाइनका लागि गरिएको व्यवस्थापनका सबै सामग्री पनि फालेका छन्,’ उनले भने । शिक्षक शाही छिमेकी गाउँ भेरेस्थित लक्ष्मी माविमा कार्यरत छन् । 

स्थानीय बासिन्दाले विद्यालयको छानो र पर्खाल भत्काएका हुन् । नगरपालिकाले बस्ती भएको स्थानमा क्वारेन्टाइन बनाएर कोरोना सार्न लागेको स्थानीयको आरोप छ । तर, विद्यालयनजिक बस्ती नभएको वडाध्यक्ष बुढाले बताए । ‘नगरपालिकाको निर्देशन, अधिकांश गाउँलेको सहमति र वडास्तरीय कोरोना रोकथाम समितिको निर्णयअनुसार क्वारेन्टाइन बनाएका थियौँ,’ वडाध्यक्ष बुढाले भने, ‘हातहतियारसहित आएका गाउँकै मान्छेले विद्यालय भत्काए ।’ यसमा शिक्षक शाहीसँगै स्थानीय नैनबहादुर वली, डम्बर वली, ललिता वली, गम्बर वली र बले घर्तीलगायतको प्रमुख भूमिका रहेको उनले बताए । 

क्वारेन्टाइन बनाउने विद्यालय भत्काएपछि भारतबाट फर्किएका स्थानीयलाई व्यवस्थापन गर्न समस्या भएको छ । विद्यालय भत्काएको विषयमा सोधपुछ गर्दा उल्टै आफूलाई पनि ज्यान मार्ने धम्की दिएको वडाध्यक्ष बुढाको गुनासो छ । 

भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले विद्यालयको भवन भत्काउने र स्थानीय सरकारको कामलाई अवरोध पुर्‍याउनेलाई कारबाही गरिने बताए । ‘विद्यालय भवन भत्काउने र क्वारेन्टाइन बनाउन अवरोध गर्ने जोसुकै भए पनि कारबाही गर्छौँ,’ उनले भने । जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले घटनाबारे बुझ्ने बताए । 

लकडाउनको समयमा पनि भारतका विभिन्न सहरबाट जाजरकोटवासी फर्किने क्रम जारी छ । अहिलेसम्म आएकालाई सदरमुकाम खलंगा तथा आसपासका क्षेत्रका विद्यालय र सरकारी भवनमा राख्ने गरिएको छ । संख्या बढ्न थालेपछि गाउँपालिकामा क्वारेन्टाइन बनाउन लगाइएको थियो । देशबाहिर रहेका करिब पाँच हजार जाजरकोटवासी गाउँ फर्किने अनुमान गरिएको छ । 

संक्रमितलाई राख्ने विषयमा रौतहटमा प्रहरी र स्थानीयबीच झडप

कोरोना संक्रमितलाई आइसोलेसनमा राख्ने विषयमा विवाद हुँदा शुक्रबार रौतहटको ईशनाथ नगरपालिका–७ जोकाहमा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायरसमेत गरेको छ । 

स्थानीय अनावारुल इस्लामिक मदरसामा रहेका दुईजना कोरोना संक्रमितलाई आइसोलेसन राख्न सदरमुकामस्थित मध्यक्षेत्रीय प्रहरी आवासीय विद्यालय गरुडामा लैजान खोज्दा स्थानीय बासिन्दाले विरोध गरेका थिए । नगरपालिकाभित्रै आइसोलेसन कक्ष बनाएर राख्न माग गर्दै उनीहरूले प्रहरी र स्वास्थ्यकर्मीलाई अवरोध गरेका थिए । प्रहरीले बल प्रयोग गरेपछि झडपको स्थिति बनेको थियो । 

स्थानीय बासिन्दाले प्रहरीको गाडी तोडफोड गरेका छन् । स्थानीयले ढुंगा हान्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

संक्रमितलाई आइसोलेसनमा ल्याउन लाग्दा स्थानीयले अवरोध गरेपछि झडप भएको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले बताए । संक्रमित रहेको स्थानबाट आइसोलेसन कक्ष करिब २५ किलोमिटर टाढा छ । 

विदेशमा अलपत्र परेका २५ हजार नेपालीलाई अर्को हप्ता स्वदेश ल्याइने 

कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका करिब २५ हजार नेपालीलाई सरकारले तत्काल स्वदेश ल्याउने भएको छ । शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले पहिलो चरणमा भारतबाहेकका तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई आगामी सातादेखि स्वदेश फर्काउने निर्णय गरेको हो । 

करार अवधि सकिएका, सम्बन्धित मुलुकले क्षमादान दिएका तथा अप्ठ्यारोमा परेर स्वदेश फर्किन सम्बन्धित देशस्थित नेपाली दूतावासमा आवेदन दिएका नेपालीलाई प्राथमिकता दिएर स्वदेश फर्काउने सरकारको तयारी छ । विदेशमा समस्यामा परेकाको संख्या धेरै भए पनि पहिलो चरणमा तत्काल २५ हजारलाई ल्याइनेछ । विदेशमा रोकिएका सरकारी कर्मचारीलाई पनि प्राथमिकतामा राखिएको छ ।

गत ४ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गर्दै आवश्यक तयारी गर्न उच्चस्तरीय समितिलाई निर्देशन दिएको थियो । त्यही निर्देशनअनुसार समितिको शुक्रबारको बैठकले उनीहरूलाई स्वदेश फर्काउन बनाइएको कार्यविधि पारित गरेको हो । 

‘कोभिड–१९ का कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने सन्दर्भमा बनेको कार्यविधि पास भएसँगै उनीहरूलाई नेपाल ल्याउने ढोका खुलेको छ,’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘उनीहरूलाई कसरी फर्काएर सम्बन्धित जिल्ला र स्थानीय तहसम्म पुर्याउने र त्यसका लागि क–कसले के–के जिम्मेवारी निर्वाह गर्ने सबै प्राविधिक विषय कार्यविधिमै तोकिएकाले अब ढिलो नगरी उनीहरूलाई स्वदेश फर्काइनेछ ।’

परराष्ट्रले विभिन्न देशस्थित नेपाली दूतावासलाई उद्धारको प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको छ । स्रोतका अनुसार चार्टर्ड जहाजबाट दैनिक तीन हजारदेखि तीन हजार पाँच सयजनासम्मलाई स्वदेश ल्याउने सरकारको योजना छ । त्यसका लागि नेपाल एयरलाइन्स र निजी एयरलाइन्स चार्टर्ड गरिनेछन् । कतिपय देशले आफ्नै खर्चमा पठाइदिने जानकारी पनि सरकारलाई गराएका छन् । 

संक्रमणको जोखिम कम हुँदै गएको मलेसियालगायत कतिपय मुलुकले भने करार अवधि सकिएकालाई नयाँ रोजगारी दिएर सहयोग गर्ने वचन दिएकाले संक्रमण बढी फैलिएका मुलुकबाट धेरै नेपाली फर्कन सक्ने सरकारको अनुमान छ । संक्रमण ६–७ महिनासम्म फैलिँदै गएको अवस्थामा रोजगारी गुमाएर कम्तीमा पनि ६ लाख नेपाली फर्कन सक्ने अनुमान गर्दै त्यहीअनुसारको दीर्घकालीन तयारी गर्नुपर्ने सरकारको निष्कर्ष छ । 

‘हामीले पहिलो चरणमा २५ हजारलाई मात्र फर्काउने योजना बनाएका छौँ, त्यसमा संख्या केही थपघट हुन पनि सक्छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘केही मुलुकले करार अवधि सकिएकालाई पनि नयाँ रोजगारी खोजेर राख्न सहयोग गर्ने संकेत गरेका छन् । संक्रमण बढी फैलिरहेको मुलुकबाट धेरै नेपाली फर्किन सक्ने अवस्था पनि बन्न सक्छ, त्यसैले अहिले नै ठ्याक्कै फर्किन सक्ने संख्या यकिन गर्न सकिने स्थिति छैन ।’

यसरी ल्याइनेछ नेपालीलाई 

नेपालीलाई स्वदेश फर्काउन मन्त्रिपरिषद् र उच्चस्तरीय समितिको निर्देशनअनुसार परराष्ट्र, गृह, रक्षा, श्रम, पर्यटन, संघीय मामिलालगायत मन्त्रालय, सातै प्रदेशका लागि तोकिएका फोकल मन्त्री, सम्बन्धित मुलुकमा रहेको नेपाली दूतावास, प्रदेश सरकार र स्थानीय तहले समन्वय गरेर काम गरिरहेका छन् । नेपाली दूतावासहरूले स्वदेश फर्किन आवेदन दिएकामध्ये प्राथमिकताका आधारमा कुन जिल्लाका कति फर्किन चाहेका छन् भन्ने सूची पठाइरहेका छन् । ती सूची परराष्ट्र मन्त्रालय हुँदै प्रदेशको फोकल मन्त्रीहरूलाई उपलब्ध गराइनेछ । 

फोकल मन्त्रीहरूले विदेशबाट फर्किनेको संख्याका आधारमा स्थानीय तहमा क्वारेन्टाइन निर्माणका लागि तयारी गरिरहेका छन् । क्वारेन्टाइनको तयारी भइसकेका जिल्ला र पालिकाका नेपालीलाई छानेर प्राथमिकताका आधारमा फर्काउन सुरु गरिनेछ । 

जहाजमा प्रवेश गराइनुअघि उनीहरूको आरडिटी विधिबाट कोरोना परीक्षण गरिनेछ । काठमाडौं ओर्लनेबित्तिकै उनीहरूलाई होटेल र पार्टी प्यालेसमा राख्ने गरी तयारी भएको र परीक्षण गरेर सम्बन्धित प्रदेश र जिल्लामा पठाइने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताए । होटेल र पार्टी प्यालेसको क्वारेन्टाइनमा बस्न चाहनेले भने आफैँले खर्च व्यहोर्नुपर्ने उच्चस्तरीय समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले बताए । 

स्वदेशमा फर्किने नेपालीको समन्वय प्रदेश १ देखि ७ सम्म क्रमशः मन्त्रीहरू वसन्त नेम्वाङ, रामेश्वर राय यादव, पार्वत गुरुङ, पद्मा अर्याल, वर्षमान पुन, शक्ति बस्नेत र विना मगरले गर्नेछन् ।

अस्ट्रेलियालगायत कतिपय देशमा रहेका नेपाली दूतावासले नेपाल फर्कनुअघि कोरोना संक्रमण नभएको पुष्टि हुन पिसिआर रिपोर्ट बोक्नुपर्ने प्रावधान बनाएका छन् । नेपाल फर्किएपछि उनीहरूलाई १४ दिन क्वारेन्टाइनमा र रिपोर्ट आइसकेपछि पनि थप सात दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने कार्यविधिमा उल्लेख छ । 

विदेशबाट फर्किएकालाई विमानस्थलबाट उपत्यकाका ‘होल्डिङ सेन्टर’मा लगिने र त्यहाँबाट सम्बन्धित स्थानीय तहले बनाएको क्वारेन्टाइनमा लगिनेछ । नेपाल फर्केपछि उनीहरूलाई आफैँ पैसा तिरेर होटेल क्वारेन्टाइनमा बस्ने वा स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बस्ने दुवै विकल्प हुनेछन् । क्वारेन्टाइन बनाइने होटेलबारे पर्यटन मन्त्रालयले तय गर्नेछ । उनीहरूलाई सम्बन्धित स्थानीय तहसम्म पुर्‍याउन यातायातको व्यवस्थापनको गर्न गृह र यातायात मन्त्रालयलाई जिम्मेवारी तोकिएको छ । 

भारतबाट आउनेलाई २० वटा नाका 

भारतबाट आउने नेपालीलाई थप नाका खोल्ने निर्णय पनि उच्चस्तरीय समितिले गरेको छ । जसअनुसार अब पशुपतिनगर, काँकडभिट्टा, रानी, कुनौली, ठाडी, माडर, भित्तामोड, मलंगवा, गौर, वीरगन्ज, महेशपुर, बेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरीफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाकाबाट नेपाली आउन पाउनेछन् । थोरै नाकाबाट प्रवेश दिँदा भिड भएको र लुकिछिपी आउँदा संक्रमण फैलने जोखिम झन् धेरै हुने भएकाले २० वटा नाकाबाट ल्याउन लागिएको हो । 

भारतबाट आउनेहरू भने भारततर्फको क्वारेन्टाइनमा बसेको केही हप्तापछि मात्र नेपाल आउन पाउनेछन् । नेपाल आएपछि पनि उनीहरू क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । लकडाउन सुरु भएयता हालसम्म करिब एक लाख नेपाली भारतबाट आइसकेका छन् । भारतबाट थप दुई लाख आउने आकलन गरिएको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुग्यो 

देशभर कोरोना संक्रमितको संख्या एक हजार दुई सय १२ पुग्दा ६ जनाको मृत्यु भएको छ । भारतबाट नेपाल फर्किने क्रममा १० जेठमा बाटोमै मृत्यु भएका अर्घाखाँचीका ३५ वर्षीय पुरुषमा कोरोना भारइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मृतकको ११ जेठमा कोरोना जाँचका लागि नमुना लिइएको थियो । भैरहवास्थित प्रयोगशालाले बिहीबार नै उनको रिपोर्ट दिएको भए पनि स्वास्थ्य मन्त्रालयले शुक्रबार मात्रै त्यसको औपचारिक जानकारी दिएको हो ।

शुक्रबार मात्रै देशभर एक सय ७० जना नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो एक सातायता परीक्षणको दायरा बढेसँगै संक्रमित पनि दैनिक सयभन्दा बढी फेला पर्न थालेका छन् । शुक्रबार साँझसम्म देशभर संक्रमितको संख्या एक हजार दुई सय १२ पुगेको छ । नयाँ पत्रिका दैनिकमा हेमन्त केसी र अशोक पहाडीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्