कालीगण्डकीमा पक्की पुल बन्दै



रामपुर : गाउँ फर्केका युवालाई रोजगारी दिन प्रदेश नं ५ र गण्डकी प्रदेश जोड्ने कालीगण्डकीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ । पाल्पा, रामपुर नगरपालिका १ र तनहुँको घिरिङ गाउँपालिका १ जोड्ने पुट्टारघाटमा निर्माणाधीन पुल निर्माण बन्दाबन्दीले केही समय स्थगन भएको थियो । पुलमा काम गर्ने नेपालगञ्ज र बर्दियाका मजदूरलाई घर पठाएर निर्माणको काम केही समय रोकिएको थियो ।

कोरोना भाइरसका कारण भारत तथा विभिन्न मुलुक, स्थानबाट गाउँ फर्केका युवाले नदीमा पुल निर्माणलाई निरन्तरता दिएर आर्थिक उपार्जन गर्न मौका पाएका छन् ।

अहिले तनहुँको भागमा पिल्लर हाल्ने काम भइरहेको छ । यसमा यहाँका ५५ युवालाई परिचालन गरिएको छ । बन्दाबन्दीपछि गाउँ आएका हरिविक्रम दरै पुल निर्माणमा सहभागी हुने अवसर पाउँदा खुशी भएको बताउछन ।

हाल यहाँ दैनिक १६ घण्टा काम गरिएको छ । निर्माणमा संलग्न युवालाई दैनिक दुई कार्यावधि बनाई आठआठ घण्टामा विभाजन गरेर एक कार्यावधिमा रु आठ सय ज्याला दिने गरी काममा लगाइएको पुल निर्माण समितिका सचिव दानबहादुर मल्लले जानकारी दिए । हालसम्म पुल निर्माणको काम १८ प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर टेकनाथ शर्माको भनाइ छ ।

बन्दाबन्दी लम्बिँदै गएपछि गृह मन्त्रालयबाट पुनः निर्माण सामग्री ढुवानीका लागि सवारी अनुमतिपत्र बनाएर स्थानीय युवा परिचालन गरी पुल निर्माणको काम धमाधम गरिएको उनी बताउछन ।

नेपाल सरकारको रु २५ करोडको लागतमा डेढ वर्ष अघिदेखि पुल निर्माण शुुरु गरिएको हो । दुई सय १७ मिटर लम्बाइ र ११ मिटरको चौडाइ रहेको पुल निर्माण बिल्डर्स शर्मा युनाइटेड रमन जेभी कन्ट्रक्सन प्रालिमार्फत तीन वर्षभित्र सक्ने लक्ष्य राखिएको छ ।

ज्याग्दी वनमा उद्यान

कालीगण्डी तटमा रहेको रामपुरको ज्याग्दी वनमा उद्यान निर्माण शुरु भएको छ । छब्बीस हेक्टर क्षेत्रफलमा फैलिएको सो वनको चार हेक्टर क्षेत्रफलमा चिडियाखाना, बालोद्यान सहितको उद्यान बनाउने कार्य शुरु भएको हो ।

रामपुर नगरपालिका प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको सहयोग र वडा नं ६ को व्यवस्थापनमा निर्माण हुने उद्यानको पैदलमार्गको ट्रयाक खोल्ने काम शुरु भएको छ ।

गत वर्ष निवेदन दिएका बेरोजगार युवालाई काम गर्न औजार हस्तान्तरण गर्दै नगर प्रमुख रमणबहादुर थापा आफैँले खनेर ट्रयाक बनाउने कामको शुभारम्भ गरे ।

कृषि र पर्यटन विकासको पाँचवर्षे कार्ययोजनासहित अगाडि बढेको वडा नं ६ ले ज्याग्दी वनलाई हेटौँडाको उद्यान जस्तै बनाउने योजना राखेको वडायक्ष हुमनाथ न्यौपानेले बताए ।

सरकारले पर्यावरण र पर्यटन प्रवद्र्धनका लागि ‘एक सामुदायिक वन एक उद्यान’ कार्यक्रम अगाडि सारेकाले पनि सोहीअनुरुप उद्यानको डिपिआर तयार पारी पहिलो चरणमा ट्रयाक खोल्ने र वनस्पति उद्यान बनाइने ज्याग्दी बृहत् पार्क विकास समितिका अध्यक्ष ओमप्रकाश बस्यालले जानकारी दिए ।

पार्क निर्माणका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु पाँच लाख विनियोजन गरेको समितिका सचिव वासुदेव ढकालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्