शहीद कप क्रिकेट प्रतियोगिता आगामी चैतमा



जनकपुरधाम : तेस्रो टी–२० क्रिकेट शहीद कप प्रतियोगिता आगामी चैत महिनामा हुने भएको छ । सो प्रतियोगितामा नेपाल र भारत गरी कुल १० वटा टिम सहभागी हुने  आयोजक समितिले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

प्रतियोगितामा प्रदेश १ बाट विराटनगर, प्रदेश २ बाट जनकपुर र वीरगञ्ज, प्रदेश ३ बाट काठमाडौं, प्रदेश ४ बाट पोखरा, प्रदेश ५ बाट भैरहवा सहभागी हुने बताइएको छ । त्यस्तै भारतको बिहारबाट पटना, दरभंगा, मुझफ्फपुर र उत्तर प्रदेशको कानपुर क्रिकेट टीम सहभागी हुने आयोजकले जानकारी दिए ।

सो प्रतियोगिताका लागि रुपेशकुमार सिंहको संयोजकत्वमा २० सदस्यीय समिति गठन गरिएको छ । प्रतियोगितामा ट्रफीसहित नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम हुनेलाई दुई लाख ११ हजार रुपैयाँ, दोस्रोलाई एक लाख पाँच हजार रुपैयाँ, म्यान अफ दि सिरिजलाई २१ हजार रुपैयाँ र म्यान द म्याच हुनेलाई प्रतियोगिताको कन्सटेन्स हेरेर पुरस्कार दिइने जनाइएको छ ।

जनकपुरधामको बाह्र विघा मैदानमा हुने सो प्रतियोगितामा २५ लाख रुपैयाँसम्म खर्च हुनसक्ने अनुमान आयोजक पक्षको रहेको छ ।

प्रत्येक वर्ष कात्तिक महिनामा हुंदै आएको सो प्रतियोगिता यसवर्ष डिपीएल सहित देशभरि कुनै न कुनै प्रतियोगिता भइरहेको कारण ढिलो हुन गएको संयोजक सिंहले बताए । 

प्रतिक्रिया दिनुहोस्