१० घण्टापछि २७ संक्रमितलाई बीपी प्रष्ठिानले भर्ना लियो



विर्तामोड : रातभर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गेट बाहिर राखिएका झापाका २७ जना कोरोना संक्रमितलाई शनिबार बिहान ९ बजे अस्पतालले भर्ना लिएको छ ।

प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवज घिमिरे बिहान धरना पुगेर संक्रमित व्यक्तिलाई अस्पतालमा भर्ना गराएका हुन् ।

शुक्रबार कोभिड–१९ पुष्टि भएका जिल्लाका २७ जना संक्रमितलाई गएराति ११ बजेतिर धरान पुर्याइएको थियो । तर, धरानस्थित कोभिड अस्पतालले राख्ने ठाउँ नभएको भन्दै भर्ना नलिएपछि संक्रमितहरु रातभर गेटबाहिरै बसेका थिए ।

उनीहरुलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा धरान पठाएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।

जिल्लामा कोभिड संक्रमितको संख्या १ सय ७ पुगेको छ । उनीहरुमध्ये कचनकवल गाउँपालिकामा मात्र एक सय जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित २ जना उपचार पछि घर फर्किएका छन् भने १ सय ५ जना उपचाररत छन् । उनीहरुमध्ये १० जनाको विराटनगर तथा ९५ जनाको धरानस्थित कोभिड अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्