दैलेखमा शनिबार बिहान थपिए १४ कोरोना संक्रमित व्यक्ति



सुर्खेत : दैलेखमा थप १४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनीहरु केही दिनअघि भारतबाट गाउँ फर्किएका थिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट दैलेखमा शनिबार बिहान १४ जनामा कोरोना संक्रमण भएको भएको पुष्टि प्रयोगशालाका संयोजक विवेककुमार पुनले गरेका हुन् ।

पीसीआर परीक्षणका गरिएका मध्ये १४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालाका संयोजक पुनका अनुसार सुर्खेतमा रहेको प्रयोगशालामा चाप भएपछि सुर्खेत र दैलेखबाट संकलन गरिएको स्वाब जुम्ला पठाइएको थियो ।

थपिएका संक्रमित दैलेखको नारायण नगरपालिका वडा नं २ का एकजना, ३ एकजना, ४ का तीनजना, ६ का एकजना, ८ का दुईजना, ९ का दुईजना, १० का दुईजना र ११ का दुई जना रहेका छन् ।

उनीहरु क्रमशः २८, ४१, ३०, १७, २२, २५, २१, २०, २७, १८, २०, ३५, ५०, २३ उमेर समूहका रहेका छन् ।

योसँगै दैलेखमा संक्रमितको सख्या ३० पुगेको छ भने कर्णालीमा ६० पुगेको छ । हालसम्म कर्णाली प्रदेशको सुर्खेत र दैलेखमा मात्रै संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्