चालकले फिर्ता गरे ट्याक्सीमा छुटेको गरगहना 



काठमाडौं : ट्याक्सी चालकले जथाभावी भाडा लिएको र यात्रुलाई दुःख दिएको गुनासो व्याप्त भइरहेकै बेला ट्याक्सी चालक सिमल राईले प्रशंसनीय उदाहरण प्रस्तुत गरेका छन् । उनले आफ्नो ट्याक्सीमा छुटेको साढे तीन लाख रुपैयाँबराबरको सामान ट्राफिक प्रहरीमार्फत सम्बन्धित धनीलाई बुझाएका छन्। 

काठमाडौं थापागाउँ बस्ने गुल्मी बाझकटेरी–३ की २८ वर्षीया बसन्ता भुसालले करिब साढे तीन लाख रुपैयाँ बराबरको धनमाल बा २ ज २२७९ नम्बरको ट्याक्सीमा छुटाएकी थिइन्। त्यो ट्याक्सीका चालक राईले त्यो सामान ट्राफिक बुझाएपछि ट्राफिक प्रहरीले भुसाललाई बुझाएको हो ।

बुधबार बिहान काठमाडौंको अनामनगरदेखि नैकापसम्म त्यस  ट्याक्सीमा जाँदा सुनको मंगलसुत्र दुई थान, चन्द्रमुखी एक थान, तिलहरी एक थान, हार एक थान, पिंजडा टप एक जोडी, बेरुवा रिङ एक जोडी, औंठी तीन थान, छ हजार १२३ रुपैयाँ रहेको लेडिज पर्स भुसालले ट्याक्सीमा छुटाएकी थिइन्। 

आफ्नो ट्याक्सीमा पर्स छुटेको थाहा पाएपछि काठमाडौंकै भीमसेनगोला बस्ने सुनसरी धरान उपमहानगरपालिका–१९ चौकीबारीका ३८ वर्षीय चालक राईले इमानदारीपूर्वक महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा सामान बुझाइदिए । त्यसपछि ट्राफिक प्रहरीले भुसालकी बहिनी सोनिया भुसाललाई बोलाएर त्यो गरगहनासहितको पर्स चालक राईकै अगाडि हस्तान्तरण गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्