क्वारेन्टाइनमा बसेका दैलेखका युवकको मृत्यु



दैलेख : भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका दैलेखका एक युवकको मृत्यु भएको छ । दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवकको शनिबार बिहान मृत्यु भएको हो ।

१० दिन अघि भारतको गुजरातबाट आएका उनी दुल्लु नगरपालिका–७ मा रहेको नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका थिए ।

दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीका अनुसार भारतबाट आएका कारण उनीसहित ७९ जनाको टोलीलाई नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो ।

शनिबार बिहान चिया खाजा खाएका उनी त्यहि ढलेका मेयर भण्डारीले बताए ।

उनको कोरोना परीक्षणका लागि बिहीबार स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा पठाइएको छ ।

पीसीआर परीक्षण रिपोर्ट आउन बाँकी रहेकोले उनको मृत्यु कोरोनाले हो वा होइन पत्ता लाग्ने दुल्लु अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्