दलित समुदायमाथिको आक्रमणको विरोधमा बत्ति बालेर प्रदर्शन



बुटवलः दलित पत्रकार तथा अधिकारकर्मीले दलित समुदायमाथि श्रृंखलाबद्ध आक्रमण भइरहको भन्दै बत्ति बालेर विरोध गरेका छन् ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल र दलित अधिकारकर्मीले सरकार अँध्यारोमा छ भन्दै दिउँसै बत्ति बालेर विरोध जनाएका हुन् ।

जिल्लाको चन्द्रौटामा शुक्रबार दिउँसो १ बजे देशभरका दलित समुदायमाथि घटेका घटनाको विरोधमा सरकारको ध्यानाकर्षण र दबाब सिर्जना गर्न मैनबत्ति बालिएको राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष चिन्ता परियारले जानकारी दिए ।

रुकुम नर संहारका साथै देशभर दलित समुदायमाथि घटेका घटनाको विरोधमा ‘सरकार उज्यालो यहाँ छ’ र ‘सरकार आखाँ खोल’ जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गर्दै विरोध गरिएको उनले बताए ।

विरोध कार्यक्रममा ऐक्यवद्धता जनाउदै दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मीना परियारले मानवता विरुद्धको अभियानमा सामेल भएको बताइन् । उनले भनिन्,‘२१ औं शताब्दीमा पनि दलितमाथि दुरव्यवहार गर्नु मानव अधिकारको हनन हो ।’

कार्यक्रममा सहभागी सहज नेपालका अध्यक्ष सन्जिव गहतराजले रुकुम घटना लगायत देशभर दलितमाथि भइरहेका विभेद अन्त्य गर्न जरुरी रहेको बताए । समाजिक दुरी कायम गरी विरोध प्रदर्शन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्