पूर्वप्रधानमन्त्री देउवाले गरे चारतारे होटलको उद्घाटन 



वीरगन्ज :  मुलुककै आर्थिक राजधानीका रुपमा परिचित वीरगन्जमा करिब एक अर्ब रुपैयाँको लगानीमा एकमात्र चारतारे होटल सन्चालनमा आएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित पुरानो बसपार्क छेउमै चारतारे होटल दियालो एण्ड लर्डस् प्लाजा सन्चालनमा आएको हो ।

चारतारे होटलको बुधबार नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दी, पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, पूर्वमन्त्रीहरु फरमुल्लाह मन्सुर, एनपि साउद, सुरेन्द्र चौधरी र अजय चौरसिया, सांसदहरु प्रदीप गिरि, विनोद चौधरी र उमेश श्रेष्ठ, कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल लगायतको पनि उपस्थिति थियो ।

वीरगन्ज महानगरकै मुख्य केन्द्र आदर्शनगरमा खुलेको चारतारे होटल वीरगन्जका उद्योगपतिहरुले भारतमा मुख्यालय रहेको लर्डस् होटल ग्रुपसँग फ्रेन्चाइज गरेर संचालनमा ल्याएका  हुन् । कांग्रेस नेता एवं पूर्वसांसद उद्योगपति अनिल रुंगटा, विशाल पटवारी र निर्मल गुप्ताको संयुक्त लगानीमा यो होटेल खोलिएको हो । 

कुल १० तले भवन रहेको होटल दियालो एण्ड लर्डस् प्लाजामा पूर्णवतानुकुलित ६० वटा कोठामध्ये चारवटा स्वीट र ५६ वटा डिलक्स कोठा छन् । यसैगरी होटलमा दुईवटा रेस्टुरेन्ट, एउटा बार, ब्याङकेट हल दुईवटा, स्विमिङपुल, जिम हल पनि रहेको होटलका संचालक रुंगटाले जानकारी  दिए ।

आर्थिक एवं औद्योगिक नगरीका साथै वीरगन्ज मुलुककै मुख्य प्रवेशद्वार पनि रहेकाले यहाँ आउने उद्योगी व्यापारीका तथा आन्तरिक र बाह्य पर्यटकका लागि लक्षित गरेर  होटल संचालनमा ल्याइएको अर्का संचालक पटवारीले बताए ।

‘वीरगन्ज देशकै आर्थिक राजधानी हो, यो प्रदेश २ को एक मात्र महानगर पनि हो, तर यहाँ तीनतारे मात्रै होटल थियो, त्योभन्दा सुविधासम्पन्न ठूला होटल एउटा पनि नभएका कारण हामीले चारतारे होटल संचालनमा ल्याएका हौ’, उनले भने–‘यो होटलको निर्माणमा मात्रै करिब चार वर्षको समय लाग्यो, अझै पनि अन्य भौतिक संरचनाहरु थपिरहेका छौ ।’

        

प्रतिक्रिया दिनुहोस्