भ्रष्टाचारको आरोपमा अवकाशप्राप्त उपरथी कारवाहीमा



काठमाडौं– नेपाली सेनाले अवकाशप्राप्त उपरथी सुधीर श्रेष्ठसहित नौ जनालाई आर्थिक अनियमिता गरेको ठहर गर्दै कारवाही गर्ने निर्णय गरेको छ ।

सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा एकजना अवकाश प्राप्त पाइलट उपरथीलाई नसिहत तथारकम असुल उपर, आठजना सैनिक अधिकृतहरुलाई सचेत र एकजना अधिकृत तथा ९नौ जनाअन्य दर्जाहरूलाई सफाइ दिने गरी फैसला गरिएको छ । सैनिक ऐन २०६३ बमोजिम फैसला गरिएको हो ।

‘श्री सैनिक हवाई महानिर्देशनालयमा विभिन्न किसिमका कमि कमजोरी भएको भन्ने सम्बन्धमा सत्यतथ्य छानबिन गर्न रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको मिति २०७६।१२।०४ गतेको राय सहितको प्रतिबेदनको आधारमा उक्त महानिर्देशनालयका तत्कालिन महानिर्देशक पाइलट उपरथी सुधिर श्रेष्ठ (अवकाश प्राप्त) सहित १९ जना प्रतिबादिहरु उपर सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको मुद्दा पुर्पक्ष गर्न रथीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतबाट देहाय बमोजिम गर्ने गरी मिति २०७७।०२।१४ गते भएको फैसला आज मिति २०७७।०२।१६ गते सम्बन्धितहरुलाई सुनाइएको छ ’– विज्ञप्तिमा भनिएको छ ।

तत्कालिन सैनिक हवाई महानिर्देशक पाईलट उपरथी सुधिर श्रेष्ठ (अवकाश प्राप्त) महानिर्देशक रहेको अवधिमा ओहदा अनुसार कानुनतः पालना गर्नु पर्ने प्रकृया र दायित्व पुरा नगरि सैनिक ऐन, २०६३ को दफा ५२ को खण्ड (झ) बमोजिमको कसुर गरेको प्रमाणित हुन आउनुका साथै ५८ लाख ९५ हजार ५ सय ९० रुपैयाँ ५९ पैसा रकमको कुनै हिसाव किताव नराखी आर्थिक अनियमितता गरेको देखिएबाट सैनिक ऐन, २०६३ को दफा ४९ को खण्ड (क) र दफा ५२ को खण्ड (छ) वमोजिम कसुरजन्य कार्य गरेको प्रमाणित भएबाट निज प्रतिवादिबाट ५८ लाख ९५ हजार ५ सय ९०रुपैयाँ ५९ पैसा असुल उपर गर्ने तथा सोही ऐनको, दफा १०१ को उपदफा (१) को खण्ड (ञ) बमोजिम नसिहत दिने गरी ठहर फैसला भएको सेनाले जनाएको छ ।

सोही मुद्धामा अन्य आठ जना अधिकृतहरुले आफूलाई प्राप्त जिम्मेवारिलाई प्रभावकारी रुपमा सम्पादन नगरेको ठहर गरि सचेत गराउने गरी फैसला भएको छ ।

साथै अधिकृत एक र अन्यदर्जा नौ जनालाई अभियोग मागदावीबाट सफाई पाउने गरी ठहर फैसला भएको सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नेपाली सेनाले पद्दती र प्रणालीमा आधारित संगठन सन्चालनमा जोड दिँदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने लक्ष्य अनुसार अनुशासन र आचरण विपरित कार्य गर्नेहरूलाई कारवाही गरिएको हो ।

साथै नेपाली सेनाले भ्रष्टाचारलाई उल्टाउनेको कडा नीति अख्तियार गर्दै भविष्यमा समेत सैनिक अनुशासन र आचरण विरुद्धको क्रियाकलापमा शुन्य सहनशिलताको नीति लिएको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्