सरकार आफ्नै गल्ती कमजोरीले गल्न थाल्यो : देउवा



वीरगन्ज :  नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार आफनै  गल्तीले गल्न थालेको आरोप लगाएका छन । केपी ओली नेतृत्वको वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताउँदै सभापति देउवाले कामभन्दा बढी भाषणमा मात्र केन्द्रित रहेर आफ्नो कमजोरी ढाकछोप गर्न प्रतिपक्षी दललाई गाली गर्नमा मात्रै सरकार व्यस्त भएको आरोप लगाए । 

वीरगन्जमा बुधबार होटल दियालो एण्ड लर्डस् प्लाजाको उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले संघीय समाजवादी फोरम नेपालप्रति पनि लक्षित गर्दै भने–‘संघीय र प्रदेश दुवै सरकारमा फोरम नेपाल छ, सत्ताको स्वाद लिइरहनुभएको छ, सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेको छैन तर सत्तारुढ दलहरु कांग्रेसले यो गरेन त्यो गरेन भनेर गाली गर्नमा मात्रै व्यस्त छन् ।’

त्यस कार्यक्रममा विशिष्ट अतिथि रहेका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसले आफ्नो गल्ती कमजोरी सुधार्नुपर्ने सुझाव दिएपछि आक्रोशित बनेका सभापति देउवाले त्यस्तो जवाफ दिएका हुन् । मुख्यमन्त्री राउतको अभिव्याक्तिप्रति लक्षित गर्दै देउवाले भने,‘दुई तिहाइको सरकारको दम्भ र अधिनायकवादका कारण मुलुकको लोकतन्त्र अहिले खतरामा परेको छ । खतरामा परेको लोकतन्त्रलाई जोगाउन जस्तोसुकै संघर्ष गर्न परे पनि कांग्रेस तयार छ ।’

‘प्रजातन्त्र र लोकतन्त्रका लागि कांग्रेस २००७ साल देखि नै लड्दै आएको छ, किनकि लोकतन्त्र र प्रजातन्त्र भनेको कांग्रेसका लागि जीवनमरणको सवाल हो, त्यसैले लोकतन्त्रमाथि कहिकतैबाट हस्तक्षेप वा आक्रमण भयो भने कांग्रेस कुनै पनि हालतमा चुप लागेर बस्न सक्दैन’, देउवाले भने । 

त्यसअघि बोल्दै प्रदेश २ का मुख्यमन्त्री राउतले  कांग्रेसलाई आफ्ना विगतका गल्ती कमजोरी सुधार्न सुझाव दिए । ‘कांग्रेसले चाह्यो भने यो मुलुक समृद्ध बन्नबाट कुनै पनि शक्तिले रोक्न सक्दैन’, उनले भने,‘तर काँग्रेसले विगतका आफ्ना गल्ती र कमजोरीहरु सुधार्नुपर्छ ।’

देशको बाग्डोर सम्हालेकाहरुले आफ्नो रवैया नसुधारे  मुलक फेरि द्वन्द्वमा फस्ने निश्चित रहेको पनि मुख्यमन्त्री राउतले बताए । ‘आफूलाई देशको ठेकेदार ठान्नेहरुले संविधान कार्यान्वयनमा बेइमानी गरिरहेका छन्, उनले भने ,‘यदि उनीहरुको रवैया यस्तै रह्यो भने मुलुक फेरि ठूलो द्वन्द्वमा फस्ने निश्चित छ ।’

प्रदेश २ को विकास र समृद्धिका मुख्य तीन आधार उद्योग, व्यापार, कृषि र पर्यटन रहेको भन्दै मुख्यमन्त्री राउतले भने–‘यदि यी तीनवटा क्षेत्रको उचित व्यवस्थापन गरेर लगानीकर्ताहरुलाई आकर्षित गर्न सकियो भने प्रदेश २ मुलुककै एक नम्बर प्रदेश बन्न सक्छ ।’

उद्घाटन समारोहमा पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, पूर्वमन्त्रीहरु फर्मुल्लाह मन्सुर, एनपि साउद, सुरेन्द्र चौधरी र अजय चौरसिया, सांसदहरु प्रदीप गिरि, विनोद चौधरी र उमेश श्रेष्ठ, कांग्रेस केन्द्रीय सदस्य रमेश रिजाल लगायतको उपस्थिति थियो ।

    

प्रतिक्रिया दिनुहोस्