कर्मचारी समायोजन विधेयक पारित



काठमाडौं: राष्ट्रियसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक बुधबार बसेको राष्ट्रियसभाको बैठकले पारित गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सोसम्बन्धी प्रस्ताव प्रस्तुत् गरेका थिए । बैठकले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’लाईसमेत सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यस्तै, ‘नेपालको संविधानअनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५’ समेत दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ ।

बैठकमा ती दुवै प्रस्तावलाई कानुनमन्त्रीका तर्फबाट सामान्य प्रशासनमन्त्री पण्डितले प्रस्तुत् गरेका थिए । दुवै प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो । बैठकको सुरुमा राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लेखा परीक्षण विधेयक, २०७५’ र ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक, २०७५’लाई टेबुल गरेका थिए ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदन्ड निर्धारण) विधेयक, २०७५’, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘निवृत्तभरण कोष विधेयक, २०७५’ तथा प्रतिनिधिसभाबाटै सन्देशसहित प्राप्त ‘राहदानी विधेयक, २०७५’का सम्बन्धमा समितिका प्रतिवेदन सभासमक्ष प्रस्तुत् गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही फागुन १२ गते अपराह्न २:३० बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्