१२ गते किस्ट अस्पतालमा सिजरिङ डेलिभरी, १७ गते कोरोना पुष्टि



काठमाडौं : ललितपुरको इमाडोलस्थित किस्ट अस्पतालमा जेठ १२ गते सिजरिङ डेलिभरी भएकी महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

जेठ ११ गते सुत्केरी व्यथा लागेपछि ललितपुर सुनाकोठीकी २३ वर्षीय महिला किस्ट अस्पताल भर्ना भएकी थिइन् । उनको नर्मल प्रसुती नहुने भएपछि चिकित्सकहरुले सिजरिङ गर्नुपर्ने बताएका थिए ।

अस्पतालले ओटी गर्ने हरेक बिरामीको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने गरेको छ । त्यसअनुसार उनको पनि थ्रोट स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठायो । तर, रिपोर्ट आउन ढिला भयो ।

अस्पतालमा भर्ना भएकी महिलामा कोरोनाको कुनै लक्षण देखिएको थिएन । रिपोर्ट आउन समय लाग्ने भएपछि अस्पतालले जेठ १२ गते सिजिरिङ डेलिभरी गरायो ।

बच्चालाई न्यू न्याट्राल आईसीयूमा राखियो भने बच्चा र आमा दुवैको स्वास्थ्यमा सुधार आइरहेको थियो ।

तर, आज शनिबार आएको रिपोर्टमा सुत्केरी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसोत जेठ १४ गते किस्ट अस्पतालमा उपचाररत ललितपुर महानगरपालिका २२ का ५७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भयो । कोरोनाका कारण उनको मृत्यु भएपछि अस्पतालले सुत्केरी महिलालाई डिस्चार्ज गर्ने निर्णय गर्यो । सुत्केरी महिलालाई जेठ १५ गते अस्पतालले डिस्चार्ज गर्यो । डिस्चार्ज भएको २ दिनपछि उनको कोरोना रिपोर्ट पोजेटिभ आयो ।

यता सुत्केरी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि अस्पतालका चिकित्सकसहित ४५ जनालाई क्वारेन्टाएनमा राख्नुपर्ने भएको किस्ट अस्पतालका चिफ अपरेसन अफिसर अमिन पाठकले जानकारी दिए । उनले ४–५ घण्टामा आउने रिपोर्टलाई ८–९ दिन लगाइदिँदा धेरै नै समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्