अाज दसै‌ंको छैटौं दिन, कात्यायानी भगवतीको पूजाअर्चना गरिदै



अाज दसैंकाे छै‌ंटाैं दिन । याे समय नवरात्रीकाे हाे । आज हिन्दु धर्मावलम्बीहरुले कात्यायानी भगवतीको पूजाअर्चना गर्ने गर्छन्। नवरात्रीमा दुर्गाको नौ शक्तिलाई जगाउनका लागि नर्वाण मन्त्रको जप गर्ने गरिन्छ । नवरात्रिको छैठौं रातमा उपासना गरिने दुर्गाको शक्ति कात्यायानीको सम्बन्ध नर्वाण मन्त्रको छैठौं अक्षर डा संग रहेको हुन्छ जसले शुक्र ग्रहलाई नियन्त्रण गर्ने गर्छ ।

 

दशमी संस्कृत शब्दबाट विस्तारित हुँदै नेपाली भाषामा आएको तद्भव शब्द हो ‘दसैं’ र नेपाली हिन्दु सम्प्रदायमा दसैं सबै भन्दा ठूलो र महत्वपूर्ण चाडको रुपमा मनाउने परम्परा रही आएको छ र अाश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामले मनाइने यो दसैं कहिलेदेखि शुरु भयो यसको कुनै ईतिहास भेटिएको छैन । 

 

प्राचिन कालदेखि हिन्दु समाजमा दसैं पर्व अत्यन्तै महत्वका साथ मनाइने गरिन्छ । दसैंको पौराणिक, सामाजिक, सांस्कृतिकका साथै राजनीतिक महत्व समेत विशिष्ट रहेको छ । देवी भागवत महापुराण अनुसार सत्ययुगमा महिषासुर नाम गरेको दैत्य राजाले देवताहरुका राजा ईन्द्रलाई युद्धमा जितेर स्वर्गमा राज्य गरे र देवताहरुमाथि आतङ्कपूर्ण शासन गर्न थाले र देवताहरु डराएर ब्रम्हाको शरणमा गए । ब्रम्हाको सल्लाहअनुसार बिष्णुसहित महादेवको शरणमा पुगे । सबै देवताहरुको छलफलपछि आफ्नो–आफ्नो शक्तिपुञ्ज निकाले र ती शक्तिपुञ्जहरु एकत्रीत भएर शक्तिस्वरुपा नवदुर्गा भगवतीको रुप धारण गर्यो । नवदुर्गा भगवतीले नवौं दिनसम्मको युद्धपछि शन्ड मुन्ड र रक्तबिज सहित महिषासुरको वध गरिन् । दशौं दिन विजय उत्सव मनाइन थालिएकाे बुझिन्छ ।

 

 त्यो दिन आश्विनशुक्ल प्रतिपदादेखि दशमी परेको थियो । अद्भूत रामायण अनुसार अर्का कथा प्रसंग जोडिएको छ, दसैंसंग र रामले रावणको बध गरेर अयोध्या फर्केपछि ठूलो जनसभामा रामको जय ! जयकार र वीरताको बखान चलिरहँदा सीताले मुख बिगारेर व्यङ्गय मुश्कान छोडेको दृश्य वा सीताको व्यवहार बिस्वामित्रले याद गरेका रहेछन् । जनसभा समाप्त भएपश्चात् विश्वामित्रले सीतासँग सोधे । धेरैबेरको अनुरोध पछि सीताले भनिन्–‘त्यो जाबो दशटाउके रावणलाई बध गर्दा रामको विरताको यत्रो बखान ? सहश्र टाउके अहिरावण र महिरावणलाई बध गरे भने तिमीहरुले के गर्दा हौ ? त्यसकारणले हाँसेकी हुँ ।’ सीताको यो अभिव्यक्तिले रामको सभामा ठूलो तरङ्ग पैदा गर्यो । रामको पुरुषार्थमा धक्का लाग्यो । त्यसपछि रामले भने–त्यसो भए म अहिरावण र महिरावणको बध नगरि छोड्दिन, रामले प्रतिज्ञा गरेर युद्धको तयारी भयो । घमासानको युद्धमा राम समेत उनका भाइहरु मुर्छित भए । कोलाहल मच्चियो । त्यहि मौका पारेर सीताले नवदुर्गा भगवतीको रौद्र रुप धारण गरि सहश्र टाउके रावणहरुको बध गरिन् । त्यो समय पनि आश्विनशुक्लप्रतिपदादेखि नवमी नै परेको थियो । दशमीको दिन विजयोत्सव मनाइन् ।

देवी भागवत अनुसार लङ्केश्वर रावणलाई रामले पराजित गर्न असमर्थ भएपछि शक्तिस्वरुपा भगवती दुर्गाको आह्वान गरे । चैत्रशुक्लप्रतिपदादेखि नवदुर्गा भवानीको उपासना गर्दै युद्ध गर्दा नवमीको दिन साँझ रामको लङ्का विजय भयो । त्यसैको खुशियालीमा दसैं मनाउँदै आइरहेको र चैत्र महिना गर्मि मौसमको कारणले आश्विनमा सारेको भन्ने उक्तिहरु पनि भेटिन्छन् ।

 

उपरोक्त कथनहरुबाट असत्यमाथि सत्यको विजय भएको प्रतीकको रुपमा दसैं पर्व मान्नेहरु नवदुर्गालाई पशुपन्छी बलि दिन्छन । प्रसादको रुपमा मासु खान्छन । अर्काथरि मत अनुसार मानव शरीर नौवटा ढोका भएको मन्दिर हो । आत्मा शक्ति स्वरुपा भगवती हुन् । पशुपन्छी पनि भगवती माताकै सन्तान भएको हुनाले आफ्नै सन्तानको बलि माग्ने कुन त्यस्तो माता होला ? ज्ञानरुपी दियो बालेर अज्ञानता रुपी अन्धकारलाई परास्त गरि मन्दिर उज्यालो पार्ने ।

 

काम, क्रोध, लोभ, मोह, अहंकार जन्य रावण र महिषासुरको जस्तो दुर्गुणहरुको बलि दिएर भगवतीलाई खुशी पार्ने दिवसको रुपमा दसैं पर्वलाई लिनुपर्दछ भन्ने पनि गरिन्छ । जसले जे अर्थ लगाए पनि दसैं मान्ने तरिकामा विविधता भए पनि आखिर दसैं त सबै हिन्दुहरुले मनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्