कांग्रेस बैठक : संविधान संशोधन पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन



काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने प्रस्ताव पेश भएको छ ।

शनिबार दिउँसो पार्टी मुख्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा उक्त प्रस्ताव पेश भएको हो ।

बैठकमा पेश गरिएको प्रस्तावमा लिम्पियाधुरा, कालापानी र लिपुलेकको भूभाग समावेश गरी सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको छ ।

बैठक सानेपामा जारी छ भने प्रस्तावमा छलफल भइरहेको छ । बैठकमा उपस्थित एक नेताका अनुसार निर्णय हुने त त्यही हो, तर अहिले नेताहरुले आफ्नो धारणा राखिरहेका छन् ।

सरकारले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न जेठ ९ गते शुक्रबार संविधान संशोधन विधेयक दर्ता गरेको थियो ।

कांग्रेसले आज संशोधनको पक्षमा उभिने निर्णय गरे संशोधनका लागि दुई तिहाई बहुमत पुग्ने छ भने भोलि (आइतबार) संसदमा यो विधेयक पेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस्