सिमित श्रोत र साधनकाबीच कोरोनासँगको लडाई लड्दै छौंः मन्त्री यादव



जनकपुरधामः प्रदेश नं.२ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले कोरोना महामारीको यस विषम परिस्थितीमा प्रदेश सरकारले सिमित श्रोत र साधनकाबीच कोरोनासँगको लडाई लडिरहेको बताएका छन् ।

कोरोना संंक्रमण रोकथाम तथा नियन्त्रणका लागि अपनाईने पूर्व तयारी एवं संक्रमण पश्चातको उपचारलाई मध्यनजर गर्दे आफ्नो मन्त्रालयले बजेट विनियोजन गरेको बताउँदै संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार अन्तर्गत कोरोनाका संक्रमण नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण प्रभावित ब्यक्ति वा परिवाहरुलाई राहत उपलब्ध गराउने,कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सामग्रीहरु खरिद गर्ने, जिल्ला विपद् व्यवस्थापन तथा सुरक्षा निकायहरुलाई परिचालन गर्ने,कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालन गर्ने, सरसफाई तथा क्वारेन्टाईन ब्यवस्थापनका कार्यहरु सञ्चालन गर्ने, कोरोना भाइरसको नियन्त्रण गर्न लागू गरिएको लकडाउनका कारण कृषकमा पर्न गएको प्रतिकूल प्रभाव न्यूनीकरणका लागि राहत र अनुदानका कार्यहरु गर्ने, कोरोना नियन्त्रण तथा उपचारको क्षेत्रमा कार्यगरिरहेका ब्यक्तिहरुलाई प्रोत्साहन भत्तासँगसँगै उनीहरुको कोरोना संक्रमणको कारण मृत्यू भएमा क्षतिपुर्ति रकम उपलब्ध गराउने जस्ता कार्यहरुलाई केन्द्रमा राखेर आवश्यक बजेट उपलब्ध गराएको उनले दाबी गरे ।

उनले भने,‘प्रदेश नम्बर २ लाई सक्षम र समृद्ध प्रदेश बनाउन वा विकास निर्माणमा ठुलो फड्को मार्न धेरै आयोजना, परियोजना र कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता रहेपनि अहिलेको समयले हामीलाई अर्काे जिम्मेवारी पनि थपिदिएको छ । हामी विकास निर्माण विस्तारै गरौंला तर सबैभन्दा पहिला व्यक्तिको बाँच्न पाउने अधिकारलाई सुनिश्तित गर्नुपर्छ भन्ने तथ्यलाई कार्यान्वयन गर्नुपर्ने अवस्था निर्माण भएको छ । तसर्थ प्रदेश सरकारले विकास निर्माणको दायित्वलाईभन्दा पनि कोरोना संक्रमणबाट आफ्ना प्रदेशबासीहरुलाई सुरक्षित राख्न पहिलो प्राथमिकता चयन गरेको छ ।’

आफ्नो मन्त्रालयले तत्कालै तय गर्ने योजना, लक्ष्य र कार्यक्रमहरुमा कोरोना संक्रमणको सन्दर्भ नै उच्च प्राथमिकतामा रहने विश्वास दिलाउँदै मन्त्री यादवले कोरोना संक्रमण नियन्त्रणलाई लक्षित गर्दै प्रदेश सरकारबाट विभिन्न शिर्षकमा आवश्यक रकम विनियोजन गरिसकिएको जानकारी दिए ।

उनले गरीव, किसान मजदुरलाई राहत वितरण, स्थानीयतहरुलाई कोरोना नियन्त्रण र उपचारका लागि बजेटको उपलब्धता, पि.पि.ई. खरिद,स्वाव परिक्षणका लागि आवश्यक पि.सि.आर.मेसिन खरिद,कोभिड १९ अस्पताल सञ्चालनका लागि स्वास्थ्य संस्थाहरुको स्तरोन्नती, कोरोना नियन्त्रण सम्वद्ध कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान जस्ता सुरक्षा निकायहरु परिचालनका लागि आवश्यक बन्दोबस्ती र सुरक्षाका सामग्रीहरु खरिद, लकडाउनका कारण कृषि क्षेत्रमा परेका प्रतिकुल असरलाई न्यूनिकरण गर्न कृषकहरुलाई राहत तथा बैंक एवं बित्तिय संस्थाबाट कृषकहरुले लिएको कृषि ऋणको ब्याजमा समेत प्रदेश सरकारले अनुदान दिने ब्यवस्था गरेको जिकिर गरे ।

प्रदेश सरकारले कोरोनाका कारण निम्तन सक्ने संभावित खाद्यान्न संकटलाई दृष्टिगतगरी आन्तरिक कृषि उपजमा बहुपक्षीय अनुदान प्रदान गरी कृषकहरुलाई प्रोतसाहित गर्ने सोच बनाएको समेत उनले जानकारी दिए । उनले कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा लगानी बृद्धि गर्ने तथा कोरोना जस्ता महामारी संक्रमण नियन्त्रणका लागि प्रयोगशाला स्थापना र विद्यमान स्वास्थ्य संस्थाहरुको स्तरोन्नत्तिलाई समेत उच्च प्राथमिकतामा राखिने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्