पुस्तक व्यवसायी चौधरी कोरोनालाई जितेर घर फर्के



जनकपुरधामः गत बैशाख ३० गते कोरोना संक्रमित भएका पुस्तक व्यवसायी विजय चौधरी आज (शनिबार) १९ औं दिनमा अस्पतालबाट डिस्चार्ज भएका छन् ।

बैशाख ३० गते राती संक्रमित भएपछि चौधरी ३१ गते जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा रहेको नर्सिङ्ग क्याम्पसमा निर्माण गरिएको कोरोना विशेष अस्पतालको आईसोलेशन कक्षमा भर्ना भएका थिए ।

अस्पताल भर्ना भएको १९ औं दिनमा उनको तेस्रो रिपोर्ट नेगेटिभ आएपछि आज उनलाई घर फर्काइएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

उनको अन्तिम परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि शनिबार चिकित्सकहरुको रोहवरमा उनलाई डिस्चार्ज गरिएको डा.रविरञ्जन प्रधानले जानकारी दिए । उनले चौधरीमा अब कोरोनाको कुनै किसिमको संक्रमण नरहेको समेत स्पष्ट पारे ।

कोरोना संक्रमण निको भएपछि चौधरीलाई पुस्तक व्यवसायी बजरंग यादव लगायतका व्यक्तिहरुले फुलमाला लगाएर अस्पतालबाट ल्याएका थिए। चौधरी प्रादेशिक अस्पताल जनकपुरको आईसोलेशन कक्षबाट डिस्चार्ज हुने दोश्रो व्यक्ति हुन् । यसअघि उनीसँगै अस्पतालमा भर्ना भएका पत्रकार विरेन्द्र रमण उपचार पश्चात नीको भई गत बिहीबार नै घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्