नेकपा नेताको सुदूरपश्चिम दौडाहाः कार्यकर्तालाई सम्झाउने प्रयास



कैलाली : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूले हल्लाको पछि नलाग्न तथा एकतामा कुनै शङ्का नगर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

तत्कालीन दुई ठुला राजनीतिक दल नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी गठन भएको एक वर्ष बितिसक्दासम्म पार्टी एकतामा अन्योल देखिएको समयमा नेताहरूले कार्यकर्तालाई सम्झाउने प्रयास गरेका हुन् । 

सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता प्रक्रियाको बाँकी काम निरन्तर भइरहेको दाबी गरे । जनताको माया, साथ सहयोग र संर्घषले बनेको पार्टी देखेर प्रतिपक्ष आत्तिएको र एकता टुटाउन अनेक प्रपञ्च रचिरहेको उनको आरोप थियो । 

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्व कम्युनिस्ट राजनीतिमा नेपाली जनता र नेकपा नयाँ उदाहरण बनेको भन्दै धेरै लामो संर्घषबाट यो चरणमा आइपुगेको बताए । यसलाई जोगाइराख्न उनले नेता कार्यकर्तालाई आग्रह गरे । 

नेता माधवकुमार नेपालले पार्टी एकता केन्द्रीय तहमा मात्रै भएको र तल्लो तहमा एकता गर्न नसकेको स्वीकार गरे । उनले यसलाई चाँडै समाधान गरेर अगाडी लैजाने विश्वास दिलाए ।  

नेकपा महमसचिव विष्णु पौडेलले दुई ठुला कम्युनिस्ट पार्टीको एकता महत्त्वपूर्ण भएको भन्दै यसलाई जोगाएर लैजानुपर्नेमा जोड दिए । उनले एकता भाँड्नका लागि अनेक प्रकारका आक्रमणहरू भइरहेको भन्दै सचेत रहन कार्यकर्तालाई आग्रह गरे । 

प्रदेशस्तरीय कार्यकर्ता भेलामा अध्यक्षद्वय, नेता नेपाल, महासचिव पौडेलसहित वर्षमान पुन, रघुवीर महासेठ, बिना मगर, भीम रावल, कर्ण थापा, लेखराज भटट् लगायत नेताको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्