क्वारेन्टिनमै जन्मियो शिशु



मार्तडी : बाजुराको बुढीगङ्गा नगरपालिका–१ को धुरालसैनमा वडा कार्यालयले बनाएको क्वारेन्टिनमा एक महिलाले गएराति बच्चा जन्माएकी छन्।

सोही नगरपालिका–१ मल्लाकुँडीकी विनोद चदाराकी श्रीमती तुलसी चदाराले शुक्रबार राति १० बजेतिर बच्चा जन्माएकी हुन्।

वडा सदस्य ललित थापाका अनुसार कामको सिलसिलामा भारतमा गएका दम्पती लकडाउनको समयमा घर फर्किएका थिए। भारतबाट आएको तीन दिनपछि क्वारेन्टिनमा बसेका बेला २० वर्षीया चदाराले पहिलो बच्चाका रुपमा छोरी जन्माएको उनले बताए।

सोही वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा कार्यरत अनमी दिया सिंहले क्वारेन्टिनमा नै सुरक्षित सामग्री प्रयोग गरी बच्चा जन्माएको बताइन्। उनका अनुसार क्वारेन्टिनमा बच्चा पाएकी सुत्केरी महिला र नवजात शिशुको अवस्था सामान्य रहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्