गृहमन्त्रालय नै चिन्दैनन् पर्साका प्रहरी, सफाईकर्मीमाथि दुर्व्यवहारपछि दुर्गन्धित बन्दै पुरै शहर



वीरगन्ज– प्रदेश २ को एकमात्र महानगरपालिका वीरगन्जमा दुईदिन देखि फोहोर व्यवस्थापन नहुँदा पुरै शहर नै दुर्गन्धित बनेको छ । प्रहरीले ज्यादति गरेको भन्दै यहाँका सरसफाइकर्मीहरू हडतालमा बसेपछि वीरगन्ज महानगरको सरसफाइ दुई दिन देखि ठप्प भएको हो । योसँगै पुरै शहर नै दुर्गन्धित भइरहेको छ ।

फोहोर उठाउन सडकमा निस्कदा प्रहरीले लकडाउन उल्लघंन गरेको भन्दै कुटपिट गरेको भन्दै महानगरपालिकाका सरसफाइकर्मीहरू शनिबारदेखि काम ठप्प पारेर हडतालमा बसिरहेका छन् ।

वीरगन्जको पावरहाउस चौक, मुर्ली, श्रीपुर, घण्टाघर, माईस्थान, आर्दशनगर, नारायणी अस्पताल नजिकै मेनरोड, छपकैया, नगवा लगायतको क्षेत्रमा दुईदिनमै फोहोरको डंगुर थुप्रिएको छ । अस्पतालबाट निस्केका फोहोर समेत सडकमा जथाभावि फालिएको अवस्थामा छ ।

वीरगन्ज महानगरपालिकाले ठेक्का र आफना कर्मचारी मार्फत महानगरको फोहोर उठाएर ल्याण्डफिल साइटमा लगेर व्यवस्थापन गर्दै आएको छ । सरसफाइमा खटिने कर्मचारीलाई प्रहरीले अवरोध गर्दै कुटपिट समेत गर्न थालेपछि सरसफाइकर्मीहरू काममा नआएको महानगरको सरसफाईको ठेक्का लिएको पृथ्वी तारा एनके इन्टरनेशनल जेभीका निर्देशक शिव गुप्ताले बताए ।

गत बिहिबार सरसफाई कर्मचारी छोटेलाल प्रसाद कुश्वाहालाई प्रहरीले कुटपिट गरी मोटरसाईकल समेत खोसेर दुव्र्यवहार गरेपछि त्यहि दिन सफाई कर्मचारीहरुले फोहोर उठाउन छाडेका थिए । लगत्तै नगर प्रमुख विजय सरावगीले प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसँग समन्वय गरेर त्यसदिन सफाई कर्मचारीलाइ काममा फर्काएका थिए ।

तर शुक्रबार साँझ फेरी ठेलामा जम्मा भएको फोहोर ट्याक्टरमा हालेर ल्याण्डफिल साईट तिर लिएर जाने क्रममा माईस्थान चोकमा प्रहरीले सरसफाई कर्मचारीलाई अवरोध गर्दै दुव्र्यवहार तथा कुटपिट गरेको थिए । प्रहरीको कुटपिटबाट ट्याक्टर चालक वीरगन्ज २४ बहुअरीका बृजकिशोर कुशवाहाको दाहिने खुट्टामा गम्भिर चोट लागेको छ । उनको एडभान्स अस्पतालमा उपचाररत थिए । अहिले उनी घर फर्किसकेका छन् ।

पटकपटक प्रहरीबाट अवरोध, दुव्र्यवहार र कुटपिट हुन् थालेपछि सरसफाइकर्मीहरू फोहोर उठाउन छाडेर हड्तालमा बसेका हुन् । कोरोनाको महामारीमा ज्यान समेत जोखिममा राखेर खटिएका सरफाइकर्मी माथि प्रहरीले पटक पटक अनावश्यक दुव्र्यवहार र अवरोध गरेकाले काम गर्न समस्या भएको सरसफाईको ठेकेदार कम्पनी पृथ्वी तारा एनके इन्टरनेशनलका निर्देशक गुप्ताले बताए ।

गुप्ताले भने– ‘लकडाउनमा सडकमा डिउटीमा खटिएका प्रहरीलाई सरसफाई कर्मचारीको परिचय पत्र र गृहमन्त्रालयले परिपत्र गरेको कागज देखाउँदा पनि प्रहरीले को हो गृहमन्त्रालय भन्दै उल्टै प्रश्न गर्दै हामी मान्दैनौं एसपीले जे आदेश दिन्छ त्यही गर्छौ भनेर जवाफ दिन्छन् ।’

विगत दुईदिनदेखि फोहोर फालिएको छ । प्रहरीको दुव्र्यवहारको कारण सफाईकर्मीले फोहोर नउठाएको अर्का प्रत्यक्षदर्शी पियुस कादमीयाले बताए । अहिले कोरोनाको महामारी भन्दा पनि फोहोर व्यवस्थापन नहुँदा अझै त्रास फैलिएको छ । सबैमा कोरोना भन्दा पनि फोहोरबाट महामारी फैल्न सक्ने डरले नै स्थानियलाई सताएको उनले बताए ।

महानगरपालिका कर्मचारीहरुले सरसफाई गरिरहेकाथिए । डियुटीमा खटेका प्रहरीले सफाईकर्मीका नायके चढेको मोटरसाईकलको साचो खोसेर झाडु लगाईरहेका महिलालाई लठीले हिर्काएका कारण उनीहरु फोहोर नठाई फर्केको स्थानिय प्रत्यक्षदर्शी अशोक तिवारीले बताए ।

उनले भने– ‘प्रहरीले ज्यादती नै गरेका छन् । सरसफाई कर्मीलाई हान्ने नै होईन कसले आदेश दिएको हो । सरसफाई नगरेका कारण पुरै दुर्गन्धित नै बनेको छ । फोहोर व्यवस्थापन नहुँदा अर्को नै महामारी हुने सम्भावना बढ्यो ।’

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख सरावगीले लकडाउन पालनाको बहानामा प्रहरीले महानगरको सरसफाइमा पटक पटक अवरोध गर्दै आएको बताए । कोरोनाको महामारीमा ज्यान जोखीममा राखेर काम गर्ने सरसफाइकर्मीलाइ प्रहरीले अवरोध र दुव्र्यवहार गरेको चार पटक भइ सक्यो, उनले भने– ‘सिडिओ र एसपीलाई भन्दा भन्दै म पनि थाकि सकेको छु ।’

प्रहरीका कारण नै शनिवार देखि सरसफाइ कर्मचारीहरु काममै आउन नमानेको उनी बताउँछन् ।
महानगरको फोहोर नउठेको भन्दै उनले भने– ‘फोहोर उठेन भने त्यसले नयाँ संक्रमण फैलने खतरा छ , तर प्रहरी प्रशासनले कुरा बुझेको छैन ।’

हडतालमा बसेका सरसफाइकर्मीलाई काममा फर्काउन प्रयास भइरहेको उनको भनाई छ ।

अतिआवश्यकीय काममा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी, सरसफाईकर्मी, खाद्यान्न व्यवसायी, औषधि व्यवसायी र सञ्चारकर्मी मात्रै होईन नागरिक समाजले पनि प्रहरीको कार्यशैलीप्रति असन्तुष्ट व्यक्त गरेका छन् । लकडाउन पालना गराउने नाममा प्रहरी आक्रामक रुपमा प्रस्तुत भई कुटपिटमा उत्रिनु अत्यन्त दुखद भएको भन्दै नागरिक समाजले प्रहरीको कार्यशैली सुधारनु पर्ने सुझाव त दिएको छ नै अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्