‘कमाऊ धन्दा चलाउने एनजीओका कारण दिगो विकास लक्ष्य भेट्टाउन मुस्किल’



जनकपुरधाम : प्रदेश दुईका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले काम गर्नेभन्दा कमाई खाने भावनाले खोलिएका गैर सरकारी संस्था (एनजीओ)का कारण दिगो विकास लक्ष्य भेट्टाउन नसकिएको बताएका छन् ।

बुधवार जनकपुरमा आयोजित ‘नेपालमा दिगो विकास लक्ष्य को स्थानीयकरण’ बारे प्रदेश स्तरीय बहुपक्षीय र नीतिगत छलफल कार्यक्रममा उनले कागजमा काम देखाएर रकम कुम्लाउने संस्थालाई तह लगाइने बताएका हुन् । 

कार्यक्रममा प्रदेश दुईका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले घरपिच्छे संस्था खोलेर भन्दा पनि समाज सेवाका लागि अभियन्ताको रूपमा काम गर्न एनजीओलाई आग्रह गरे । 

प्रदेश २ का एनजीओ सञ्चालकले भने दिगो विकास लक्ष्य प्राप्तिका लागि गैर सरकारी संस्थालाई बलियो बनाउनेगरि नीति ल्याउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा उपस्थित एनजीओका प्रतिनिधिहरूले गैर सरकारी संस्था महासङ्घले सरकारलाई बुझाएको सुझावका आधारमा समाज विकास ऐन कार्यान्वयनमा ल्याए मात्रै दिगो विकास सहित समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पुरा हुने तर्क गरे । 

कार्यक्रममा प्रदेशसभा सदस्य परमेश्वर साह, रामआशिष यादव, नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झा र महासङ्घका केन्द्रीय उपाध्यक्ष ध्रुवप्रसाद देव, गैसस महासङ्घ प्रदेश नं. २ का अध्यक्ष धिरेन्द्रबहादुर सिंहलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्