कुष्ठरोगीको संख्या बढ्यो, पीडित भन्छन्: ‘देवीदेवताको श्राप लाग्यो’ !



कैलाली : बैतडी जिल्लामा पछिल्लो समय कुष्ठरोगीको संख्या बढ्दै गइरहेको छ । स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीका अनुसार हाल जिल्लामा ११ जना कुष्ठरोगीका बिरामी उपचाररत छन् ।  

गत वर्ष ४ जना कुष्ठरोगी उपचारमा रहेकोका उक्त संख्या बढेर यो वर्ष ११ पुगेको जोशीले जानकारी दिए । 

कुष्ठरोग एक प्रकारको सरुवा रोग भए पनि विभिन्न देवीदेवताको श्रापका कारण लाग्ने रोग भन्ने गलत धारणाका कारण यसका बिरामी बढ्दै गएको हो । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूका अझै पनि यो रागबाट पीडितको संख्या उल्लेख्य रहेको चिकित्सकहरू बताउँछन् । 

कुष्ठरोग उपचार गराएमा सजिलै निको हुने भए पनि देवीदेवताको श्रापका कारण रोग लाग्ने नकारात्मक धारणामा परिवर्तन नआएसम्म यसलाई निर्मूल पार्न नसकिने स्वास्थ्यकर्मीको भनाइ छ ।  

बैतडीमा कुष्ठरोग पहिचानका लागि विभिन्न स्वास्थ्य संस्थाहरूले सेवा दिइरहेका छन् । कुष्ठरोगको निदान र उपचार नेपाल सरकारले पनि नि:शुल्क गरेको छ ।

प्रतिक्रिया दिनुहोस्