परिक्षण र औषधिबिनै दैलेखका संक्रमित युवाले यसरी गरे प्राण त्याग



काठमाडौं : कर्णालीमा कोरोनाबाट पहिलो मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका- ११ खागीतडाका ३५ वर्षीय युवाको शनिबार बिहान मृत्यु भएको हो।समयमै कोरोना परीक्षण र उपचार नपाउँदा उनको मृत्यु भएको छ ।

नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका १० दिनसम्म पनि ती युवाको कोरोना परीक्षण हुन सकेको थिएन। समयमै परीक्षण नहुँदा उनलाई आइसोलेसनको साटो गाउँमै रहेको क्वारेन्टाइनमा अरू ७९ जनासँगै राखिएको थियो। त्यही क्रममा शनिबार बिहान चिया खाएर सुतेका उनी ओछ्यानमै मृत भेटिएका हुन्।

समयमै पीसीआर परीक्षण नभएका कारण उनले आवश्यक उपचार नै पाउन सकेनन्। कोरोना आशंकामा उनलाई क्वारेन्टाइनबाहिर जाने अनुमति पनि दिइएको थिएन। परीक्षणमा भएको ढिलाइ र उपचारमा भएको लापरबाहीका कारण ती युवाले क्वारेन्टाइनमा प्राण त्यागेको आफन्तले गुनासो गरेका छन्।

उनको मृत्यु भएपछि मात्र शनिबार नै स्वाब परीक्षण गरिएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सामाजिक विकास मन्त्रालयअन्तर्गतको जनस्वास्थ्य शाखाका प्रमुख नवराज कँडेलले मृतक युवाको पीसीआर रिपोर्ट पोजेटिभ आएको पुष्टि गरेका हुन्। मृतक युवाका आफन्तले समयमै परीक्षण र उपचार नगर्दा क्वारेन्टाइनमै मृत्यु भएको बताएका छन्।

‘भारतबाट फर्किंदा बाटोमा सामान्य ज्वरो आएको थियो, यहाँ आइसकेपछि बेलैमा परीक्षण भएन’ मृतकका दाइ भन्छन्, ‘भेडा हुलेजस्तै क्वारेन्टाइनमै थुन्ने काम मात्र भयो, समयमै परीक्षण गरेर उपचार गरिदिएको भए ज्यान जाने थिएन।’ उनले ज्यानमारा क्वारेन्टाइनमा थुनेर राख्दा भाइको मृत्यु भएको दुखेसो पोखे।

दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले पनि परीक्षणमा भएको ढिलाइका कारण युवाले उपचार नपाएरै मृत्युवरण गर्नुपरेको बताए। मेयर भण्डारीका अनुसार परीक्षणका लागि क्वारेन्टाइनमा बसेकोहरूका स्वाब पठाइए पनि परीक्षण समयमै नहुँदा थप जोखिम बढेको छ।

मृतक युवा एक वर्षअघि रोजगारीका लागि भारतको अहमदाबाज पुगेका थिए। उनी त्यहाँको एक होटलमा काम गर्थे। कोरोना संक्रमण बढ्दै गएपछि भने उनी ज्यान जोगाउन साथीहरूसँगै जन्मघर फर्किएका थिए। तर, उनले स्वदेश आएर पनि ज्यान जोगाउन सकेनन्। मृतकका श्रीमती, एक छोरा र एक छोरी छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्