क्वारेन्टाइनमा भारतबाट आएका व्यक्तिले गरे आत्महत्या



रूपन्देही : गुल्मीको क्वारेन्टाइनमा एक व्यक्तिले आत्महत्या गरेका छन् । जिल्लाको छत्रकोट गाउँपालिका–४ दिगामस्थित आदर्श माविको क्वारेन्टाइनमा ५६ वर्षीय चन्द्रबहादर परियारले शनिबार साँझ आत्महत्या गरेका हुन् ।

उनी भारतबाट शनिबार बिहान मात्र नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

साँझ परेपछि शौचालय जान्छु भनेर नजिकैको झाडीतर्फ गएका उनी धेरै बेरसम्म नआएपछि खोजी गर्दा २ सय मिटर टाढाको रूखमा झुन्डिएको अवस्थामा फेला परेको वडाध्यक्ष डिलाराम न्यौपानेले बताए ।

परियार अरू ६ जनासँगै दिल्लीबाट आएर क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा ३० जना थिए ।

गाउँपालिकाको स्वास्थ्यकर्मीको समूहले शनिबार साँझ उनीहरूको स्वास्थ्य परीक्षण शुरु गरेलगत्तै परियार शौचालय जाने भनेर हिँडेका थिए । स्वास्थ्य परीक्षणमा उनी उपस्थित नभएपछि खोजी गर्दै घरमा पुग्दासमेत नभेटिएपछि परिवारकै सल्लाहमा जंगलमा खोजेको वडा अध्यक्ष न्यौपानेले बताए ।

घटनास्थलमा शृंगा प्रहरी चौकीको टोली पुगेको छ । तर, कोभिड–१९ संक्रमण भएको आशंकाले शव रूखमै झुन्डिएको छ । कसरी निकाल्ने भन्ने विषयमा स्थानीय प्रशासनसँग छलफल र समन्वय भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्तले बताए ।

यता परिवारका अनुसार उनले यसअघि पनि आत्महत्याको प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्