ओपीडी सेवा सुचारु गर्दै वीरगन्जको नारायणी अस्पताल



वीरगन्ज- कोरोना विशेष अस्पतालबाट मुक्त भएको पाँच दिनपछि वीरगन्जको नारायणी अस्पतालको क्रमिक रुपमा सेवा सूचारु हुन थालेको छ ।

पर्सा जिल्ला लगायत यस क्षेत्रमा कोरोना संक्रमणको सख्या देखापर्न थालेपछि सरकारले यो अस्पताललाई चैत ३० गते कोरोना विशेष अस्पताल घोषणा गरेको थियो ।

कोरोना विशेष अस्पतालको रुपमा नारायणी अस्पताल घोषणा गरे लगत्तै बैशाख २ गते तीन जनामा कोरोना संक्रमण भेटिएपछि अस्पतालमा ल्याएर भर्ना गरी उपचार शुरु भएको थियो । कोरोना विशेष अस्पताल शुरु भए लगत्तै कोरोना संक्रमितको उपचार बाहेक अन्य सम्पूर्ण सेवा ठप्प भएको थियो ।

एक मात्र सुविधा सम्पन्न सरकारी अस्पतालको रुपमा रहेका नारायणी अस्पतालमा पर्सा, बारा, रौतहत र सर्लाही लगायतको क्षेत्रका जनतालाई सेवा सुविधा दिँदै आएका थिए । तर कोभिड अस्पताल घोषणा भएपछि निम्न वर्गका जनता सरकारी अस्पतालको सेवा सुविधाबाट बन्चित हुन थालेपछि निजि अस्पतालमा चर्को शुल्क तिरेर उपचार गराउन बाध्य भएका थिए ।

चर्को शुल्क तिर्दापनि स्तरीय सेवा नपाउदा निजि अस्पताल विरुद्ध चौतर्फी विरोध तथा नारायणी अस्पतालबाट कोभिड अस्पताल अन्तै सारेर अस्पतालको सम्पूर्ण सेवा सञ्चालन गर्न माग उठेपछि स्वास्थ्य मन्त्रालयले नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालको रुपमा हुने गरी वीरगन्जको गण्डकमा रहेको गण्डक अस्पताललाई घोषणा गरे ।

अस्थायी कोभिड–१९ अस्पताल घोषणा भएलगत्तै नारायणी अस्पतालमा उपचारत ७२ जना कोरोना संक्रमितहरूको सफ उपचार भएको थियो । उनीहरू घर फर्किसकेका छन् ।

डिस्चार्ज भएको अइतबार पाँच दिन भईसकेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेण्ड डा. मदन कुमार उपाध्यायले कोरोना संक्रमित निको भएर घर फर्के लगतै अस्पतालको सरसफाई तथा सेनेटाईजरको प्रकृया अगाडी बढाईएको बताए ।

उनले भने– ‘चार दिनदेखि अस्पताललाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार अस्पतालको सरसफाई तथा निर्मलीकरण गरेका थियो । अस्पताल निर्मलीकरण भईसकेको छ ।’

आजदेखि क्रमिक रुपमा अस्पतालको सेवा सुचारुको प्रकृया शुरु हुने छ । स्वास्थ्य मन्त्रालयले पनि नारायणीलाई पत्राचार गरेर बहिरंग लगायतका सेवा सुरु गर्न निर्देशन दिइसकेको छ । तर तत्काल सबै सेवा सुरु गर्न जनशक्ति अभाव छ । विरामी भर्ना गरिहाल्नु नपर्ने खालका ओपीडी सेवाहरु क्रमशः सञ्चालन गर्दै जाने योजनाअनुसार तयारी गरिरहेको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. उपाध्याय बताए ।

‘पहिलो चरणमा डायलायसिस सेवा लिइराखेका विरामीहरुको लागि सेवा आजदेखि शुरु गरीसकेका छौ । स्वास्थ्य उपचारमा खटेका स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गरेर डायलायसिस सेवा शुरु गरिएको छ’, मेसु उपाध्यायले भने– ‘छाला, नाक, कान घाँटी, दाँत लगायत विरामी भर्ना गरिहाल्नु नपर्ने खालका ओपीडीहरु क्रमशः सञ्चालन गर्दै जान्छौं ।’

ओपीडीमा सामाजिक दुरी कायम गराएर दैनिक कम्तिमा २५ जनालाई सेवा दिन सक्ने वातावरण मिलाउने उनले जानकारी दिए ।

मेडिकल सुपरिटेण्डेण्डले डा. उपाध्यायले १७ गतेको मितिमा आज एक प्रेस विज्ञप्ती पनि जारीगर्दै भनेका छन्– ‘अस्पतालको आकस्मिक कक्षबाट विगत देखि नै नियमित रुपमा सर्पदशंको उपचार तथा ज्वोरो क्लिनिकबाट सेवा निरन्तर नै रहेको सर्व्विदित छ । बैशाख २ गतेबाट अवरुद्ध रहेको डायलायसिस सेवा जेष्ठ १८ गतेबाट शुरु हुने जानकारी गराउँन पाउँदा हर्षित छौ । बहिरंग सेवा क्रमिकरुपमा सामाजिक दुरिलाई मध्यनजर गर्दै गरिने छ, र पहिला प्रत्येक विभागमा अधिकमत २५ जना बिरामीको उपचार गरिने छ ।’

‘अझै केहि दिनका लागि अन्तरंग सेवा प्रभावित हुने भएकोले, आकस्मिक सेवा प्रदान गरेपछि, भर्ती हुन अन्यत्र पठाउँनु पर्ने बाध्यता हुने भएकोले क्षमाप्रार्थी छौ । अन्य सेवाहरु छिटो भन्दा छिटो सुचारु गर्ने तयारीमा रहेको सबैमा विनम्र जानकारी सहित अनुरोध छ ।’ प्रेस विज्ञप्तीमा भनिएको छ ।

नारायणी अस्पतालले छाती, इन्डोक्राइनोलोजी, ग्याँस्ट्रोलोजी, सर्जरी, अर्थो स्पाईन सर्जरी, गाइनो, हाडजोर्नी, छाला, फिजिसियन, इमर्जेन्सी, मानसिक रोग, बाल रोग सम्बन्धी रोगको उपचार, प्याथोलोजी, एक्स–रे, भिडियो एक्स–रे, सिटिस्क्यान, डायलायसिस र फार्मेसी लगायतको सेवा समेत दिँदै आएको छ ।

अस्पतालमा नेपाल सरकारका १ सय ९९ जना र अस्पताल विकास समितिका १ सय ७४ जना कर्मचारी कार्यरत छन् । नारायणी अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचारमा खटेका कारण ६ जना डक्टर, स्टाफ नर्स र पारामेडिक्स १० जना, २ जना स्वीपर, ५ जना कार्यालय सहयोगी होटल क्वारेन्टाइनमा छन् ।

७ जना डाक्टर, ४ जना स्वीपर, १२ जना स्टाफ नर्स र पारामेडिक्स होम क्वारेन्टाइनमा छन् ।

नारायणी मातहतको गण्डक कोभिड अस्पतालमा ४ जना डाक्टर, ५ जना स्टाफ नर्स, पारामेडिक्स र २ जना स्वीपर खटिएका छन् । पीसीआर प्रयोगशालामा जनशक्तिको उपयोग र पीसीआर परीक्षणको भार थपिँदै गएकाले जनरल प्रयोगशाला सञ्चालन गर्न विद्यमान जनशक्ति अपुग छ । ४ जनाको दरबन्दी भएको ठाउँमा ८ जना कर्मचारी खटिएका छन् । जनरल ल्याब सञ्चालनका लागि पनि छुट्टै जनशक्ति चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्