सडक अतिक्रमणले चन्दननाथ सहर साँघुरियो 



जुम्ला : जुम्लाको चन्दननाथ नगरपालिकाअन्तर्गत बजार क्षेत्रमा मापदण्ड विपरीतको घरटहरा लगायतका संरचना व्यापक हुन थालेपछि जिल्लाको सदरमुकाम समस्याग्रस्त बन्दै गएको छ ।

बजार क्षेत्र वरिपरि अतिक्रमण गरी निर्माण कार्य शुरु गरेका कारण बजार नै साँघुरो र कुरुप हुँदै गइरहेको जानकारहरू बताउँछन् । नगरपालिकाले राम्ररी ध्यान नदिंदा सुन्दर सहर बनाउने सपना चकनाचुर हुने स्थानीयको भनाइ छ ।

चन्दननाथ नगरपालिका घोषणा भएको लामो समय बितिसके पनि नगरपालिकाले बनाएको मापदण्ड कार्यान्वयनमा आएको छैन । स्थानीयबाट बजार क्षेत्रभित्र घर टहरा निर्माण गर्दा सडकबाट छोडिनुपर्ने न्यूनतम दुरी नराखी घर टहरा निर्माण भइरहेका छन् । जसले गर्दा सदरमुकामको सुन्दरता बिग्रिएको छ ।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत भन्छन्,‘स्थानीय तहको निर्वाचन भएको एक वर्ष पूरा भए पनि सदरमुकामको फराकिलो रुपरेखाको आधार तयार भएको छैन । सदरमुकामका हरेक घरमा एम्बुलेन्स र दमकल जाने सडक आवश्यक छ तर त्यतातिर ध्यान जान सकेको छैन ।’ 

सदरमुकाम क्षेत्रको विजयनगर– जिल्ला प्रहरी हुँदै–मुख्य बजार, मुख्य बजार–कालेखोली हुँदै विमानस्थल, मुख्य बजार–अस्पतालरोड, विजयनगर–जिल्ला समन्वय समिति हुँदै टुँडिखेल सडक साँघुरो भएको स्थानीयको भनाइ छ । महत सडक फराकिलो बनाउनुपर्ने बताउनुहुन्छ । अति विशिष्टको जुम्ला भ्रमण हुँदा पनि सुरक्षा निकायलाई कठिन हुने गरेको छ ।

घर निर्माण गर्दा अनिवार्य नक्सा पारित र स्वीकृत लिनुपर्ने प्रावधान भए पनि धेरै नगरवासीले मिचेको स्थानीय बताउँछन् । यसका साथै सडकमा जथाभावी निर्माण साम्रगी राखेर आवतजावतमा समेत अवरोध पुर्याएको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्