मानव अधिकार आयोगले सोध्य गृह मन्त्रालयसँग २४ घण्टे स्पष्टीकरण



काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले गृह मन्त्रालयसित २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

सर्वोच्च अदालतको आदेशविपरित खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ का चक्रबहादुर खत्रीलाई पटक–पटक पक्राउ गरेकामा गृह मन्त्रालयसित आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको हो ।

आइतबार विज्ञप्ति जारी गरी आयोगले खत्रीलाई अपमानपूर्वक पक्राउ गरेर अज्ञात अवस्थामा राखिएको सम्बन्धमा गृह मन्त्रालयलाई २४ घण्टाभित्र जवाफ पेस गर्न स्पष्टीकरण सोधिएको जनाएको छ ।

‘खत्रीको अवस्था सम्बन्धमा परिवारलाई जानकारीसमेत नदिई स्थिति अज्ञात पार्ने गरिएको, निजउपर अपमानजनक व्यवहार गरिएको तथा सर्वोच्चबाट पटकपटक जारी भएका आदेशको बेवास्ता गरिएको सम्बन्धमा चौबीस घण्टाभित्र जवाफ पठाउन आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ,’ विज्ञप्तिमा छ ।

आयोगले खत्रीलाई २०७६ वैशाख २ मा पहिलोपटक पक्राउ गरी जिल्ला कारागार खोटाङमा राखिएकामा सर्वोच्चबाट भएका आदेशविपरीत २०७६ चैत २८, २०७७ वैशाख १३, वैशाख २८, जेठ २ र जेठ १५ गते छैटौं पटक गिरफ्तार गरी लकडाउनको अवस्थामा खोटाङ, उदयपुर, सोलुखुम्बु हुँदै जेठ १६ गते सिरहा पुर्याइएको पाइएको विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्