एसपीको प्रतिवद्धतापछि वीरगन्ज महानगरपालिकाका सफाईकर्मी काममा फर्किए



वीरगन्ज– प्रहरी ज्यादतीको विरुद्धमा वीरगन्ज महानगरपालिकको सरसफाई बन्द गरी आन्दोलनमा उत्रेका सफाईकर्मी आईतबार दिउसो पर्साका एसपी गंगा पन्त संग सहमती भएपछि काममा फर्केका छन् ।

वीरगन्ज महानगरपालिकामा भएको सहमतीमा एसपी पन्तले आईन्दा यस्तो गस्ती नदोहरिने प्रतिबद्धता जनाएपछि सरसफाईकर्मीहरु आन्दोलन स्थगित गरेर काममा फर्केका हुन् ।

सरसफाईकर्मीलाई कुनै प्रकारको अवरोध नगरेता पनि एकदुई जना प्रहरीका कारण सम्पूर्ण प्रहरी संगठन नै बदनाम हुनु परेको उनले स्वीकारिन् ।

सफाईकर्मीलाई सान्तावना दिँदै बाटोमा कुनैपनि प्रहरीले सरसफाईकर्मीहरुको काममा बाधा वा दुव्र्यवहार गरे तत्काल आफूलाई जानकारी गराउँन आग्रह गर्दै त्यस्ता प्रहरीलाई कडा भन्दा कडा कारवाही गरिने आस्वासन दिएको बैठकमा सहभागि महानगरपालिकाका सरसफाईका ठेक्का लिएका पृथ्वीतारा एन.के. ईन्टरनेशनलका निर्देशक शिव गुप्ताले बताए ।

बैठकमा वीरगन्ज महानगरपालिका मेयर विजय कुमार सरावगी, पर्साका प्रहरी नायब उपरिक्षक गौत्तम थापा, पृथ्वीतारा कम्पनीका निर्देशक गुप्ता, प्रहरीबाट कुटिएका ट्याक्टर चालक बृजकिशोर कुशवाहा, सफाईकर्मीका ईन्चार्ज छोटेलाल कुशवाहा लगायतको सहभागिता रहेको थियो ।

सहमती भएलगतै सरसफाईकर्मीले महानगरपालिका क्षेत्रमा फालिएको फोहोरहरु उठाएका छन । दुईदिन देखि फोहोर नउठाउँदा शहर नै दुर्ग्न्धित बन्न पुगेको थियो । शुक्रबार फोहोर लोड गरी वीरगन्ज १६ फोहोर व्यवस्थापन केन्द्रमा लैजादै गर्दा माइस्थान चोकमा डियुटीमा खटेका प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिई कुटपिट गरेको थियो ।

पटक पटक प्रहरीबाट दुव्र्यवहार हुनु परेको भन्दै दोषी प्रहरीलाई कडा कारवाही नगरेसम्म महानगरपालिकाको फोहोर नउठाउँने अडान लिदै सरसफाईकर्मी आन्दोनलमा उत्रिका थिए ।

प्रतिक्रिया दिनुहोस्