प्रदेश २ मा आईतबारसम्म ६ सय १३ जना संक्रमित



जनकपुरधाम– प्रदेश २ मा आईतबारसम्म १४ हजार २ सय ९२ जना व्यक्तिको थ्रोट स्वाब संकलन गरिएकोमा ६ सय १३ जना संक्रमित भएका छन् भने ९ हजार १५ जनाको नेगेटिभ नतिजा आएको छ ।

त्यस्तै ४ हजार ६ सय ६४ जनाको नतिजा आउन बाँकी रहेको छ । प्रदेश २ मा आज (आईतबार) मात्रै १ हजार ७ सय २६ जनाको स्वाब संकलन गरिएको छ । त्यस्तै आरडिटी तर्फ अहिलेसम्म ६ हजार ६ सय ३१ जनाको परीक्षण गरिएकोमा ४१ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ६ हजार ५ सय ९० जनाको रिपोर्ट नेगेटिभ देखिएको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले बताए ।

प्रदेशमा संक्रमित ६ सय १३ मध्ये सबैभन्दा बढि रौतहटका २ सय १६ जना रहेका छन् । त्यस्तै १ सय ३ जना पर्साका,५४ जना बाराका, ७० जना धनुषाका,२७ जना महोत्तरीका,७२ जना सर्लाहीका,२५ जना सिरहाका र ४३ जना सप्तरीका व्यक्ति छन् ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको २७ हजार ९० बेड क्षमताको ३ सय ८१ वटा क्वारेन्टाइनमा अहिले १८ हजार ८ सय ३० जनालाई राखिएको छ भने ५ हजार ४५ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको ७ सय ६४ बेड क्षमताको आईसोलेशनमा ३ सय ६० जना शंकास्पद बिरामीलाई भर्ना गरिएको सचिव घिमिरेले जानकारी दिए ।

यस प्रदेशमा ९९ जना कोरोना संक्रमित व्यक्तिहरु उपचार पश्चात निको भएर आ–आफ्नो घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्