रुकुम घटनाका दोषीलाई कडा कारवाही गर्न नेकपा नेता माधवकुमार नेपालको माग



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रुकुम घटनालाई मावनताबिरुद्धको अपराध भएको बताएका छन् ।

आइतबार एक विज्ञप्ती जारी गर्दै नेता नेपालले सो घटनाको गहिराइमा पुगेर छानबिन गर्न, दोषीलाई कडा कारवाही तथा पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

‘मावनताविरुद्धै अपराधका रुपमा भएको उक्त घटनाको गहिराइमा पुगेर छानबिन गर्न, दोषीमाथि कडाभन्दा कडा कारवाही गर्न र पीडितहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्न म विशेष जोड दिन चाहन्छु’ नेपालले भनेका छन्, ‘छुवाछूत जस्तो असामाजिक, अमानविय र घृणित कार्यको अन्त्य गर्नका लागि आ–आफ्नो ठाउँबाट सक्रियतापूर्वक जुट्न, यस्ता क्रियाकलाप भएमा त्यसका विरुद्धमा दृढतापूर्वक उभिन र सामाजिक न्यायको पार्टीको घोषित उद्देश्यलाई सामाजिक जीवनमा परिणत गर्नका लागि उदाहरणीय बन्न म हाम्रो पार्टी नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई आह्वान गर्दछु ।’

एक्काइसौँ शताब्दीको युगमा पनि जातीय छुवाछूत र भेदभावका कारण ज्यान जाने घटना हुनु सबैका लागि लज्जाको विषय बनेको उनले जनाएका छन् । यस घटनालाई आफूले कुनै व्यक्ति वा समुदायमाथिको अत्याचार मात्र नभएर समग्र नेपाली समाजको अनुहारमै लागेको कलंकका रुपमा लिएको उनको निष्कर्ष छ ।

छुवाछूतलाई कानुनले दण्डनीय अपराधका रुपमा स्पष्ट ठहर गरिसकेको बताउँदै उनले अशिक्षा, पछौटेपन र जातीय अहंकारका कारण हुने छुवाछूतले समाजलाई पछाडी मात्र धकेल्दैन, विश्वकै सामु राष्ट्रकै बेइज्जत हुने जनाएका छन् ।

स्थानीय तहसम्म जननिर्वाचित संस्थाहरुको व्यवस्था भइसकेपछि कानुन कार्यान्वयन र जनचेतनाका लागि ठूलो अभियान चलाउनुपर्ने आवश्यकता यस्ता घटनाहरुले टठ्कारो रुपमा दर्शाएको ठहर उनको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा गत १० जेठमा भएको घटनामा परी जाजरकोट खलंगा नगरपालिकाका युवाहरु नवराज विक, सन्दीप विक, लोकेन्द्र सुनार, टिकाराम सुनार र गणेश बुढाले ज्यान गुमाएको र गोविन्द शाही वेपत्ता भएका छन् ।

उक्त घटनामा परी ज्यान गुमाएका युवाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै वेपत्ताको छिटो खोजी गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्