सरकार विरुद्ध तरुण दलको प्रदर्शन



जनकपुरधाम : नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल धनुषाले तीन वटै तहको सरकार विरुद्ध प्रदर्शन गरेको छ। जनकपुरस्थित राजदेवी मन्दिरको प्राङ्गणबाट दर्जनौँको संख्यामा निस्केका तरुण दलका युवाहरुले सरकारको भण्डाफोर नामक प्रदर्शन गरेका छन् ।

मशाल जुलुस सहित प्रदर्शनमा निस्किएका उनीहरु जनक चोक पुगी प्रधानमन्त्री केपी ओली मुर्दावाद, मुख्यमन्त्री लालबाबु राउत मुर्दावाद, नगरप्रमुख लाल किशोर साह मुर्दावाद, पीसीआर मेसिन चालु गर, क्वारेनटाइन र आइसोलेसन व्यवस्थित गर, सिमानाकामा फसेका नेपाली नागरिकलाई नेपाल प्रवेश गराऊ लगायतका नाराहरू लगाएका थिए ।

नेपाल तरुण दल धनुषाका उपाध्याय राकेश विक्रम साहले लोकतान्त्रिक मुलुकमा सरकारको रवैया ठिक नरहेको बताउँदै तीन वटै तहको सरकारले निरङ्कुश चरित्र प्रदर्शन गरिरहेको जिकिर गरे ।

उनले भने, ‘बहुमतको आडमा जनविरोधी रवैया जारी राखे तरुण दलले आन्दोलनको ज्वालामुखी सिर्जना गरेर सरकारलाई खरानी बनाउँछ ।’ कोरोना जस्तो महामारीको समाधान गर्नुको सट्टा तिनटै तहको सरकार कमिसन र भ्रष्टाचारमा लिप्त रहेको उनको आरोप थियो ।

मशाल जुलुस सहित प्रदर्शन गरिरहेका तरुण दलका युवाहरूलाई भानु चोकमा प्रहरीले लाठीचार्ज समेत गरेको छ। प्रहरीले लाठीचार्ज गर्दा तरुण दलका उपाध्यक्ष राकेश विक्रम साह, रमेश यादव लगायत चार/पाँच जनालाई चोटपटक समेत लागेको छ ।

प्रतिक्रिया दिनुहोस्