कोरोना महामारी नियन्त्रणका लागि सबै जिम्मेवार बनौं : नेता प्रभु साह



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि अहिलेको संकटपूर्ण अवस्थामा सबै जिम्मेवार हुनुपर्ने बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सबैको संयमित, अनुशासित एवं एकताबद्ध जिम्मेवारीले अहिलेको महासंकटमाथि विजयी प्राप्त गर्न सकिने जनाएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि अहिलेको संकटपूर्ण अवस्थामा पक्ष वा विपक्षीको मानसिकताबाट माथि उठेर सहकार्य गर्दै अगाडि बढनुपर्ने समय रहेको नेता साहले जनाएका छन् ।

‘यो संकटको समयमा पक्ष–विपक्षको मानसिकताबाट माथि उठेर आफुले गरिरहेको कार्यको के कस्तो प्रभाव पर्न सक्छ ? भने समेतको आकलन गरेर मात्र बिरोध वा समर्थन गर्न जरुरी छ’ साहले भने, ‘आकस्मिक रूपमा पैदा भएको अहिलेको यो महासंकटमा सबै संयमित, अनुशासित एवं एकताबद्ध भई जिम्मेवारपूर्ण ढंगले अघि बढ्न तथा यस महाविपत्तिमाथि विजय प्राप्त गर्न हार्दिक अनुरोध गर्दछु ।’

पूर्व मन्त्री तथा सांसद रहेका नेकपा नेता साहले कोरोना संक्रमण रोकथाम र नियंत्रणको लागि लकडाउन मार्फÞत सामाजिक दूरी कायम गर्ने र क्वारेन्टाइनमार्फÞत बिरामी पहिचान गर्ने जस्ता उपाय अहिलेसम्मको सबैभन्दा उपयुक्त उपाय देखीएकोले क्वारेन्टाइन निर्माण विश्व स्वास्थ्य संगठनले तयार गरेको मापदण्ड बमोजिमको भरपर्दो एवं व्यवस्थित हुनुपर्ने बताएका छन् ।

नेपालसहित विश्वमै अकास्मिक रुपमा आएको कोरोनाको नियन्त्रण एवं सामना गर्न विकासोन्मुख देश र ग्रामिण क्षेत्रका लागि चुनौती बनेको उनको ठहर छ ।

‘बलियो पूर्वाधारहरुको कमी हामी जस्तो विकासोन्मुख देश र त्यसमा पनि मुख्यतः ग्रामीण क्षेत्रहरुका लागि तुलनात्मक रुपमा थप कष्टकार एवं चुनौतीपूर्ण हुनु स्वभाविक छ’ साहले भने, ‘त्यसका बाबजूद पनि अहिलेको संवेदनशील समयमा विभिन्न अभाव, दवाव र जटिलताहरुका बीच स्थानीय तहहरुले स्थानीय स्तरमा उपलब्ध साधनस्रोत, जनशक्ति र भौतिक पूर्वाधारहरूको उच्चतम सदुपयोग गरिएको छ ।’

अध्ययन–अध्यापनको लागी निर्माण गरिएका मुख्यतः सरकारी र सार्वजनिक विद्यालयहरुको भवनलाई तत्काल आवासीय भवनमा रुपान्तरण गरी युद्ध स्तरमा क्वारेन्टाइनहरु निर्माण गर्दै सञ्चालनमा ल्याइएको उनले जनाएका छन् ।

यी कार्य आफैंमा पनि प्रशंसनीय भए पनि केहि मौकापरस्त, पूर्वाग्रही तथा गैरजिम्मेवार व्यक्तिहरु विषयको गम्भीरतालाई नबुझेर भ्रमपूर्ण प्रचारमा उदृत रहेको उनले जनाएका छन् ।

अहिलेको यस महासंकटको घडीमा समेत कोरेनटाईनलाई सुविधासम्पन्न होटल तथा आधुनिक अस्पतालसँग तुलना गर्दै क्वारेन्टाइन भित्र तथा बाहिर रहेका आम सर्वसाधारण मानिसहरूलाई भड्काउने तथा समाजमा विद्वेष र आरजकता फैलाउने कार्यमा समेत केही व्यक्ति लागेको प्रति उनले गम्भीर आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्