विष खुवाएर नातिनी हत्या, हजुरबुवा र हजुरआमा पक्राउ



कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०, टोटीकी ७ वर्षीया बालिका रीतु डगौरालाई विष खुवाएर मारेको आरोपमा मृतकका हजुरबुवा र हजुरआमालाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ४३ वर्षीया रेशमी डगौरा र ६० वर्षीय भर्थरी डगौरा रहेका छन्। मृतककी आमा ज्योति डगौराले किटानी जाहेरी दिएपछि दुबैलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। गत माघ २२ गते भात खाएपछि रीतुले लगातार बान्ता गर्न थालेपछि उपचारका लागि लैजाँदै गर्दा उनकाे बाटोमा मृत्यु भएको थियो। बालिकाले गरेको बान्ता खाँदा ५ कुखुरासमेत मरेका थिए।

बालिकाकी हजुरआमा रेशमीले नातिनीसँग रिस उठेपछि बजारबाट तरकारीमा छर्किने विषादी भातमा हालेर खान दिएको र आफूबाट गम्भीर गल्ती भएको बयान प्रहरीलाई दिएकी छन्। तरकारीमा छर्किने विषादीका कारण बालिकाको मृत्यु भएको रेशमीले प्रारम्भिक बयानका क्रममा बताएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए। 'विषादीको बट्टासमेत घरबाटै बरामद गरेका छौं', उनले भने।

मृतक बालिकाको रगतको नमूना विज्ञान विधि प्रयोगशालामा परीक्षणका लागि यसअघिनै पठाइसकिएको उनले जानकारी दिए। दुबै जनामाथि ज्यानसम्बन्धी कसुरमा अदालतमा मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ। 

प्रतिक्रिया दिनुहोस्