दुतियाका पिताको घर बनाउन अभियन्ता तयार



ढल्केवर : केही दिनअघि बलात्कारपछि जलाएर हत्या गरिएकी दुतिया रसाइलीको पिता देवनारायण रसाइलीको घर सामाजिक अभियन्ताहरुले बनाइदिने भएका छन् ।

देवनारायणको घर दुतियाको हत्या हुनुभन्दा एक महिनाअघि आगलागी भएर नष्ट भएको थियो । धनुषाको मिथिला नगरपालिका वडा नं. ३ हरिहरपुर बस्ने दुतियाका पिता देवनारायण रसाइलीलाई भेट्न पुगेका सामाजिक अभियन्ता सरोज राय र शरिन ख्युङ्वा तामाङले घर निर्माण गर्न सहयोग जुटाइदिने बताए ।

प्रष्ट बोल्न नसक्ने देवनारायण र अशक्त बृद्ध आमाको आयस्रोत नभएकाले घर बनाउन पूर्ण रुपमा सहयोग गर्ने सामाजिक अभियन्ता सरोजले जनाए ।

देवनारायणको घर जलेपश्चात् पुनः घर बनाउन आर्थिक समस्या भएपछि छोरी दुतिया र  ८० बर्षिय बृद्ध आमा सूर्यमाया रसाइलीसहित भाइको घरमा आश्रय लिएर बस्दै आएका थिए ।

सामाजिक अभियन्ता सरोज र शरिनले छोरीको विभत्स हत्याबाट विक्षिप्त भएका देवनारायणका परिवारका लागि घर निर्माणमा सहयोग गर्न सबैसँग आग्रह गरे ।

यता दुतियाका हत्या आरोपमा धनुषा बटेश्वर गाउँपालिका ४ बेंगारीका निरज जर्घा मगरलाई धनुषा प्रहरीले पक्राउ गरी बलात्कार र कर्तव्यज्यान मुद्दा चलाएको छ । 

प्रतिक्रिया दिनुहोस्