नेपाल भारत सीमास्थित पुलबाट आवागमनमा रोक



कैलाली : दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा घाटबजारमा रहेको नेपाल भारत जोड्ने झोलुङ्गे  पुल बिहीबारदेखि पाँच दिनका लागि बन्द हुने भएको छ ।

जिल्ला सदरमुकाममा रहेको नेपाल भारत जोड्ने झोलुङ्गे पुल मर्मत गर्नुपर्ने भएकाले फागुन ९ गतेदेखि १३ गतेसम्म दिउँसोको समयमा बन्द रहने भारतीय पक्षले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचारमार्फत जनाएको छ ।

पुलमा प्रयोग भएका फलामे प्लेटहरु जीर्ण बन्दै गएको तथा नयाँ प्लेट फेर्नका लागि दिनमा चार घण्टा पुलमा आवतजावत बन्द गर्न भारतीय प्रशासनबाट नेपाली प्रशासनलाई पत्राचार भएको हो ।

दिउँसोको समयमा पुल निर्माणको काम गर्नुपर्ने भएकोले फागुन १३ गतेसम्म दिउँसो सबा एक बजेदेखि सबा चार बजेसम्म पुलमा आवतजावत बन्द हुने नेपाली सुरक्षा अधिकारीहरुले बताएका छन ।

पुलमा आवतजावत तीन घण्टा बन्द गरिए पनि अन्य समयमा भने आवतजावत खुला रहने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्