समाज कल्याण परिषद्का पदाधिकारी बर्खास्त



काठमाडौं : भ्रष्टाचारमा मुछिएका समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बरालसहित पाँच पदाधिकारीलाई नेपाल सरकारले बर्खास्त गरेको छ।

मन्त्रिपरिषद् बैठकले परिषद्का उपाध्यक्ष बरालसहित कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु इन्द्रकुमार झा, गोकर्णप्रसाद भट्ट र सदस्य सचिव डिल्लीप्रसाद भट्टलाई बर्खास्त गरेको हो । 

परिषद्मा व्यापक अनियमितता भएको गुनासो आएपछि सरकारले विशेष अदालतका पूर्वअध्यक्ष मोहनरमण भट्टराईको अध्यक्षतामा छानविन समिति गठन गरेको थियो । समितिले परिषद्मा अनियमितता भएको निष्कर्ष निकाल्दै संलग्न पदाधिकारीलाई कारवाहीको सिफारिस गरेको थियो । 

छानविन समितिकै सिफारिसका आधारमा परिषद्का सबै पदाधिकारीलाई बर्खास्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए ।

बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले परिषद्लाई हानी नोक्सानी पुर्याउने कार्य गरेकाले थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समितिको प्रतिवेदन पठाउने निर्णय भएको बताए ।

प्रतिक्रिया दिनुहोस्