‘छोरानाति भइसके तर अझै नागरिकता बनेन’



बाँके :  बाँकेको जानकी गाउँपालिका–६ पिप्रहवाकी ४६ वर्षीया हसरतजहाँ दर्जीको विवाह भएको २५ वर्ष भयो । उनका १९ र १६ वर्षीया दुई छोरी अनि १४ र ११ वर्षका दुई छोरा छन् । हजुरआमासमेत भइसकेकी दर्जीले विवाह गरेदेखि हालसम्म संविधानसभा, स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभाको चुनाव भइसकेको छ तर ४६ वर्ष पुगिसक्दा उनको नागरिकता बनेको छैन ।

 

श्रीमान् बाहिद अली दर्जीले हरेक चुनावमा भोट हाल्ने पनि गरेका छन् तर हसरतजहाँ भने यो अवसरबाट वञ्चित छिन् । कारण त्यही नागरिकता हो । उनले चाहेर पनि आफूले मन परेको व्यक्तिलाई मतदान गर्न पाउनु हुँदैन । यतिमात्र होइन, नागरिकता नभएकै कारण उनले बैंक खाता खोल्न र सहकारी तथा महिला समूहमा रकम बचत गर्न पाएकी छैनन् ।

 

हजुरआमा भइसक्दा पनि आफ्नो नागरिकता नबन्नुमा परिवारकै असहयोग छ उनलाई । ‘नागरिकता बनाउने मन छ’, उनले भनिन्, ‘तर, श्रीमानले विवाह दर्ता अहिलेसम्म गराइदिएका छैनन् ।’ पिप्रहवाकी २५ वर्षीया ज्योति लोधको समस्या पनि यस्तै छ । ११ वर्षअघि विवाह गरेकी उनका सात वर्षका  छोरा छन् । घरमा बारम्बार नागरिकता बनाइदिन आग्रह गरे पनि नागरिकता नबनेको उनको भनाइ छ ।

 

‘विवाह दर्ता गरी नागरिकताको सिफारिस बनाइदिन श्रीमानलाई भन्दै आएकी छु तर हुन सकेको छैन’, उनले भनिन् । नागरिकताका लागि श्रीमानसँग बेलाबेलामा खटपटसमेत हुने गरेको छ । ज्योतिको उमेरअनुसार २०६४ देखि नै मतदान गर्न सक्ने देखिन्छ तर नागरिकता नभएकाले मतदाता नामावलीमा नामै छैन । ‘श्रीमान् र परिवारका सदस्यले चासो दिएनन् । आफू केही जान्दिन’, उनी भन्छिन,‘नागरिकता बिनाको नेपाली हुनुपरेको छ ।’

 

यी दुई त प्रतिनिधिपात्र मात्रै हुन् । जानकी गाउँपालिकाका दलित समुदायका बुहारी यसैगरी नागरिकताविहीन बनेका छन् । चुनावका बेला अरू महिला भोट हाल्न जाँदा नागरिकता नभएका यहाँका महिला भने घरभित्रै खुम्चने गरेका छन् । श्रीमानले विवाह दर्ता नै नगरिदिंदा दशकौंसम्म उनीहरू नागरिकताबाट वञ्चित भइरहेका छन् ।

 

जानकी गाउँपालिका–६ पिप्रहवाकी २६ वर्षीया ताजरुन तेलीले विवाह भएको आठ वर्ष भइसक्दा पनि नागरिकता बनाउन नसकेको पीडा सुनाइन् । ‘कर गरिरहेकी छु तर पतिले टार्दै आउनुभएको छ’, उनी भन्छिन् । बाँकेका मधेसी बस्तीमा अधिकांश महिलाको विवाह भएको २५ देखि ३० वर्षसम्म पनि नागरिकता बनेको पाइँदैन । सामाजिक सुरक्षा भत्ता पाउने वृद्ध अवस्थामा मात्र केहीको नागरिकता बनेको देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्